Similar Articles

बिचार

नेपाल अमेरिका पत्रकार सङ्घ अनि म मिडियामा- अनिल पाण्डे

बिराट नेपाल

म शब्दको प्रयोग प्रिय हुँदैन । किनभने यस शब्दको प्रयोग बोलेर गरियोस् वा लेखेर, यसबाट घमण्ड र अभिमान झल्किन्छ, जो यस पक्तिकारलाई पनि मनपर्दैन । तर गएको साता यसको नाम केही सञ्चारमाध्यमले निकै उछाले र ‘म’ भन्न बाध्य पारे । नेपाल–अमेरिका पत्रकार सङ्घको हालैसम्पन्न महाधिवेशनमा यसको सहभागितालाई लिएर केही साथीहरूलाई ज्वरो आयो । तापमान बढाएर बसेका साथीहरूको निधार छाम्दा थाहा भयो, उनीहरूलाई निर्वाचनमा पराजित हुनुपरेकोमा ठुलो आक्रोश रहेछ । आक्रोशका बेला नजिकैको भित्तामा हात बजारेर भए पनि सन्तोष मान्ने सिलसिलामा यस पक्तिकारको टाउकोमा उनीहरूको हात बजारिएको पाइयो । 

अनिल पाण्डेले कसैलाई जिताउन वा हराउन खासै केही नगरेको अवस्थामा पनि यसलाई साथीहरूले सक्षम देख्नु यसको भाग्य पनि हो । निर्वाचनमा कसैको पराजय नभई कसैको विजय सम्भव थिएन । सनफ्रासिस्को बेएरिया क्षेत्रका लागि अवैतनिक पर्यटन दूत भएका कारण यसले निकै भोट ताछेको हुनुपर्छ भन्ने अनुमानमा उनीहरूले बोल्दाबोल्दैको माइक खोसेको, साइँली औंला उठाएर बोलेको र कुर्सी छोडेर जुरुकजुरुक उफ्रेको आदि विस्तारित विवरण छापे । यथार्थ त्यसअनुसार थिएन तर उनीहरूले लेखेको विस्तारित विवरण हेर्दा होइन भन्न कसैलाई पनि सहज थिएन । साथीहरूले निकै मेहनतका साथ यस पक्तिकारलाई गाली गरेर समाचार बनाए । 

यसलाई गाली गर्दा उनीहरूले जे–जति विशेषण दिएका छन्, त्यसमा यो यतिखेर धेरै भन्न चाहँदैन । तर अनिल पाण्डे पत्रकार होइन भनेर जसरी दाबी गरे त्यसलाई हेर्दा चाहिँ यसको चित्त दुख्यो । यसको चित्त दुखाउनु नै उनीहरूको सफलता हो भने, उनीहरू सफल भए । तर जब पाठकहरुले अनिल पाण्डे ढिलोमा पनि पाक्षिक स्तरमा लेखसम्म त लेख्नेगर्छ र स्तम्भकारलाई पनि पत्रकार मान्ने गरिन्छ भन्ने सत्य बुझेपछि भने ज्वरो पालेर बसेका साथीलाई टाइफाइड नहुने कुरै छैन । लेखका अतिरिक्त अमेरिकामा आफ्नै मिडिया चलाएर बसेको व्यक्तिलाई समेत पत्रकार नदेख्ने मित्रहरुको आँखामा रतन्धो भने आएकै हो । 

पत्रकार को हो र को होइन भन्ने सम्बन्धमा विश्वका विभिन्न मुलुकमा विवाद छ । कतै लेखकलाई पनि पत्रकार मानिन्छ भने कतै मानिन्न, तर स्तम्भकार अर्थात् नियमित अखबारमा लेख लेख्ने व्यक्तिलाई पत्रकार होइन भनेको देखिन्न । नेपालमा पनि सूचना विभागमा स्वतन्त्र पत्रकारले परिचयपत्र बनाउन जानेहो भने कम्तीमा वर्षको एक थानका दरले कुनै अखबार वा अनलाइन न्यूज पोर्टलमा लेख, आलेख, टिप्पणी छापिएको प्रमाणित कपी देखाऊ भन्छ । अर्थात् हाम्रो जन्मभूमिले पनि लेखक–स्तम्भकारलाई पत्रकारको श्रेणीमा राखेको त छ नै साथमा उसलाई प्रमाणपत्र दिँदा उसको नाममा प्रकाशित सामग्री प्रमाणका लागि आधारका रूपमा पनि लिनेगरेको छ । अर्थात् स्वतन्त्र पत्रकार हुँ भन्ने कसैको दाबी प्रमाणित गर्ने एक्लो आधार उसको लेख वा बाइलाइनमा प्रकाशित सामग्रीलाई मानिन्छ । तर त्यही नियम बनाउने सूचना विभागसँगै कार्यालय भएका अर्थात् नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी भएको अनिल पाण्डेलाई गैरपत्रकार देख्नु र अमेरिकामा आएर बसेका रामबहादुर र सीतादेवीहरुलाई गैरनेपाली देख्नुमा के फरक छ ? जसरी नेपालमै बसेका नेपालीले मात्र नेपाल बनाउन सक्तैनन्, विदेशिएका सीतादेवी र रामबहादुरहरु पनि चाहिन्छ त्यसरी नै समाचार संकलक र सम्पादकले मात्र मिडिया चल्दैन, लेखक–स्तम्भकारजस्ता विचार दिने व्यक्ति पनि चाहिन्छ, यस सत्यलाई नबुझ्ने बबुराहरु किन कलम चलाउँछन् !

जस्तो, डा. विष्टकै उदाहरण लिऊँ, उनी इमेज च्यानलमा न्यूजचिफ छन्, कलेजमा पढाउँदा टिचर हुन्छन्, पत्रकार महासंघमा अध्यक्ष र ससुराली जाँदा ज्वाईं बन्छन् । एकै मानिसका अनेक पदवी र भूमिका हुन्छन् त ! एक भएका कारण अर्को हुनुहन्न भन्ने विधान कतै देखिन्न– नैतिक पतन हुने काममा सरिक नभएसम्म । 

यो पक्तिकार आज मदरल्याण्ड नेपालको अध्यक्ष र खास क्षेत्रका लागि पर्यटनदूत पनि हो– के यी दुई पद लिएको व्यक्ति पत्रकार हुन सक्तैन ? यसले नियमित रूपमा स्तम्भ र लेख प्रकाशित गरिरहेको छ, त्यस कारणले यो पत्रकार  पनि होइन ? पत्रकार भएको नाताले नेपाल–अमेरिका पत्रकार सङ्घको सम्मेलनमा यो सहभागी हुन सक्तैन ? 

आज राजतन्त्र चाहिन्छ भन्ने विचारका कमल थापालाई ओछ्याएर आसन बनाई लोकतन्त्रवादी शासन चलाउने एमाले र एकीकृत माओवादीका नेताहरुबाट अनिल पाण्डेलाई गाली गर्नेहरुले खै पाठ सिकेका ? खड्ग ओली र पुष्पकमल दाहालहरु त कमल थापासँग कुम जुधाएरै उभिएका छन् त । किन अनिल पाण्डे मात्र अछुतो हुने ? के नेपाल–अमेरिका पत्रकार सङ्घमा उसले कसैका उम्मेदवारलाई सघाएन भन्दैमा ऊ पत्रकार नै नहुने र मण्डले बन्ने ? आज स्वतन्त्र विद्यार्थी मण्डल छैन न त राजतन्त्र नै छ । मरिसकेका विषयलाई आधार बनाएर अनिल पाण्डेको पछिलाग्न मिल्छ भने तपाईँका श्रद्धेय नेताले ज्ञानेन्द्र राजाको पाउमा दाम राखेर ढोगेका कारण तपाईँको अनुहारमा आज कालोमोसो किन नदल्ने ? कि कालोमोसो दल्न तयार हुनुस् कि अनिल पाण्डेलाई मण्डले भन्न छोड्नु्स् । 

तपाईँले चाहिँ स्वतन्त्र पत्रकार हुँ भन्दै प्रेस चौतारी, प्रेस युनियन र क्रान्तिकारी समूहको सदस्य भएर आ–आफ्ना राजनीतिक पार्टीका पक्षमा असन्तुलित समाचार जति लेख्दा पनि हुने यसले कमल थापालाई वस्तुतथ्यका आधारमा आलोचना गरेरै कलम चलाउँदा पनि यो मात्र अछुतो हुनुपर्ने ? याद गर्नुहोस्, तपाईँको आडम्बरी र दुईजिब्रे प्रवृत्तिलाई लोकतन्त्रमा हुर्केको पुस्ताले हाँसेर उडाउँनेछ, तपाईँ हास्यपात्र हुनुहुनेछ– समयमै चेतना भया !



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक