Similar Articles

बिचार

बर्नी स्यान्डर्स: अबको बाटो कता ? - राजु सिटौला

बिराट नेपाल

मे २०१५ मा बर्नी स्यान्डर्सले डेमोक्र्याटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतीय निर्वाचनको उम्मेदवार हुन प्रतिस्पर्धा गर्ने कुराको घोषणा गर्दा धेरै थोरैले मात्र उनलाई चिन्थे । तर २०१६ को जून १४ मा भएको डेमोक्र्याटिकको अन्तिम प्रारम्भिक निर्वाचनसम्म आइपुग्दा उनले डेमोक्र्याटिक पार्टीको प्रारम्भिक चरणको अवधिभरिमा खसेको कुल मतको ४२.९ प्रतिशत प्राप्त गरेका छन् भने २३ अमेरिकी राज्यमा आफ्नो प्रतिद्वन्दी हिलारी क्लिन्टनमाथि विजय प्राप्त गरेका छन् । उम्मेद्वारले विभिन्न राज्यहरूमा प्राप्त गरेको मतको आधारमा डेलिगेट्स( प्रतिनिधि )को निश्चित सङ्ख्या प्राप्त गर्ने र तिनै डेलिगेट्सहरुको सङ्ख्याको आधारमा राष्ट्रपतीय उम्मेदवार छनौट गरिने यस प्रारम्भिक निर्वाचन पद्धतिमा बर्नी स्यान्डर्सले जम्माजम्मी १८२९ डेलिगेट्सलाई आफ्नो पक्षमा पारे भने उनको प्रतिद्वन्दी हिलारी क्लिन्टनले २२०२ डेलिगेट्सलाई आफ्नो पक्षमा पारिन् । यो दुवै सङ्ख्या डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्न साथमा हुनुपर्ने डेलिगेट्सको सङ्ख्या २३८३ भन्दा कम हो । तर डेमोक्र्याटिक पार्टीमा प्रत्यक्ष निर्वाचनबाट प्राप्त गरिने डेलिगेट्स बाहेक पनि पार्टीको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरू जसलाई सुपरडेलिगेट्स भनिन्छ, उनीहरूलाई पनि राष्ट्रपतीय उम्मेदवार चुन्न पाउने अधिकार हुन्छ । तर यस्ता सुपरडेलिगेट्सले पार्टिगत चुनावी प्रक्रियाको अन्तमा हुने सम्मेलनमा मात्र आफ्नो मत हाल्न पाउछन् । बर्नी स्यान्डर्सको पक्षमा ४७  à¤¸à¥à¤ªà¤°à¤¡à¥‡à¤²à¤¿à¤—ेट्स छन् भने हिलारी क्लिन्टनको पक्षमा ५९४ सुपरडेलिगेट्स छन् । आउदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा हिलारी क्लिन्टन नै डेमोक्राटिक पार्टीको तर्फबाट उम्मेदवार हुने निश्चित छ । तर यसको आधिकारिकता प्राप्त गर्न उनले जुलाई अन्तमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलन पर्खनै पर्ने हुन्छ । हिलारी क्लिन्टन नै डेमोक्र्याटिक पार्टीको उम्मेदवार हुने पक्का भएपछि अब बर्नी स्यान्डर्सले आफ्नो राजनैतिक अभियानको अवतरण कसरी गर्छन् भन्ने चासो बर्नी स्यान्डर्सको समर्थकहरुलाई मात्र नभएर हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षलाई पनि उत्तिकै छ ।  

आफ्नो चुनावी अभियानको क्रममा ठुला व्यपारीहरु र कम्पनीहरुसँग चन्दा नलिएर पनि चुनावी खर्च पुर्‍याउन सकिन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेका बर्नी स्यान्डर्सले युवायुवती र स्वतन्त्र मतदाताहरुमाझमा एउटा राजनैतिक सुनामी नै ल्याएका थिए । अमेरिकी राजनीतिमा युवापुस्ताले विरलै देखाउने चासो र सहभागिता यो पटकको प्रारम्भिक चरणको चुनावमा देखाएका थिए । बर्नी स्यान्डर्सको राजनैतिक मुद्दाहरू विशेष गरेर माथिल्लो १ प्रतिशत धनाड्य र ठुला कम्पनीहरूलाई बढी कर लगाउने, विद्यार्थीहरूको कलेज ट्यूसन फि हटाउने, सरकारद्वारा सबैको निमित्त स्वास्थ्य बिमा प्रदान गरिने, सोशल सेक्युरिटीको थप बिस्तार गरिने आदिलाई धेरैले मनपराए पनि आशा गरे झैँ मत प्राप्त गर्न भने उनी असफल रहे । उनका समर्थकहरुले आरोप लगाए जस्तै केही हदसम्म ठुला मिडियाले बर्नी स्यान्डर्सलाई आफ्नो प्रसारणमा उचित स्थान नदिएको पक्कै हो । तर बर्नी स्यान्डर्सको सबैभन्दा ठुलो असफलता अफ्रिकन अमेरिकी समुदायको समर्थन पाउन नसक्नु रह्यो । अफ्रिकी अमेरिकनहरुको जनघनत्व रहेको थुप्रै दक्षिणी राज्यहरूमा बर्नी स्यान्डर्स हिलारी क्लिन्टन भन्दा धेरै पछि परे । मार्टिन लुथर किङको राजनैतिक अभियानमा सँगै हिंडेका र अफ्रिकन अमेरिकन समुदायको मुद्दाको लागि लडेर पक्राउ परेका बर्नीले पछिल्लो समय त्यो समुदायसँग घुलमिल हुन सकेनन् । त्यो बाहेक पनि थुप्रै राज्यहरूमा स्वतन्त्र मतदाताहरुले बर्नीलाई भोट हाल्न नपाउनु र मतदाता दर्ता गर्ने समय धेरै अगाडि नै सकिनुले पनि हिलारीलाई भन्दा बर्नीलाई नै बढी बेफाईदा गर्‍यो ।

प्राम्भिक चरणको सुरुका केही निर्वाचनहरुमा पछि परे लगत्तै आफ्नो चुनावी अभियानको अन्त्य गर्न र डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय उम्मेद्वारको रूपमा हिलारी किलिन्टनको समर्थन गर्न बर्नी स्यान्डर्सलाई लगातर दबाब पर्दै आएको थियो । यसै बिच मार्च र अप्रिल महिनामा भएका केही प्रतिस्पर्धाहरुमा बर्नी स्यान्डर्सले पाएको सफलताहरुबाट यस्तो दबाब दिनेहरु हच्किएनन् मात्र बरु हिलारी क्लिन्टन पक्ष पनि केही दबाबमा परेको थियो । तर क्यालिफोर्निया राज्यमा भएको प्रारम्भिक चरणको अन्तिम ठुलो प्रतिस्पर्थामा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई पछि पार्न सकेनन् । त्यसपछि धेरैले अब बर्नी स्यान्डर्सले आफ्नो चुनावी अभियान टुङयाउने छन् र हिलारी क्लिन्टनलाई समर्थन गर्नेछन् भन्ने आशा गरेका थिए । तर त्यसको विपरीत आफ्नो पछिल्लो प्रत्यक्ष भिडियो प्रसारण मार्फत उनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा विजयी हुन नदिन हिलारी क्लिन्टनसँग सहकार्य गर्न आफू इच्छुक रहेको बताए पनि आफ्नो राजनैतिक अभियानको अन्त्य नभैसकेको र जुलाईको अन्त्यमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलनमार्फत पार्टीमा आफ्ना एजेन्डाहरुलाई स्थापित गराउन सङ्घर्ष गरिरहने बताए । उनले हिलारी क्लिन्टनसँगको आफ्नो सहकार्य हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीले कसरी सम्बोधन गर्छन् भन्ने कुरामा निर्भर रहनेछ पनि भनेका छन् । डोनाल्ड ट्रुम्पको उदयसँगै अनुदारवादी रिपब्लिकन पार्टी सैद्धान्तिक रूपमा धराशायी भएको मान्नेहरु हिलारी क्लिन्टनलाई आधुनिक रिपब्लिकन भन्न पनि पछि पर्दैनन् । यस्तोमा बर्नी स्यान्डर्सका प्रगतिशील मुद्दाहरुलाई हिलारी क्लिन्टनले कसरी सम्बोधन गर्छिन् भन्ने कुराले ठुलो महत्त्व राख्छ । हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको अहिलेको ठुलो टाउको दु:खाई नै कसरी बर्नी स्यान्डर्सलाई उनको समर्थन गर्नमा सहमत गराउने र राष्ट्रपतीय चुनावमा बर्नीको करोडौ समर्थकहरुको मत प्राप्त गर्ने भन्ने नै हो । अर्को तर्फ बर्नी स्यान्डर्सले पनि हिलारी क्लिन्टनलाई सजिलै समर्थन गर्नसक्ने अवस्था छैन । प्रारम्भिक चरणमा उनलाई मत दिएका १ करोड २० लाख मतदाताहरु मध्ये थुप्रैले 'बर्नी अर बस्ट' अर्थात् बर्नी उम्मेदवार भएनन् भने निर्वाचनमा भागै नलिने भन्ने अभियान सुरुदेखि नै चलाऊदै आएका छन् र कतिपयले यदि बर्नीले हिलारीलाई समर्थन गरेमा त्यो आफूहरुमाथि विश्वासघात हुने भन्दै आएका छन् । उनका समर्थकहरुमा युवा युवतीहरु र स्वतन्त्र मतदाताहरुको सङ्ख्या अधिक रहेकोले पनि उनीहरूले तत्कालै हिलारीलाई समर्थन गरिहाल्न गार्हो छ । 

प्रारम्भिक चरणको अन्तिम निर्वाचनको परिणाम आइसक्दा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई खुलेर समर्थन नगर्नुले उनी स्वतन्त्र उम्मेद्वारको रूपमा उठ्ने सम्भावना पनि कायम नै छ । उनका धेरै समर्थकहरु पनि यही नै चाहन्छन् । हुन पनि आफ्नो अढाइ दशक लामो राजनैतिक जीवनकालको पछिल्लो र छोटो अवधि मात्र बर्नी स्यान्डर्स डेमोक्र्याटिक पार्टीसँग आवद्द भएका हुन् । उनका थुप्रै समर्थकहरु डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षले उनलाई उचित न्याय नगरेकोले उनले पनि पार्टीप्रति इमान्दार हुनुनपर्ने तर्क गर्छन् । यदि साँच्चै बर्नी स्यान्डर्सले स्वतन्त्र उम्मेद्वारको रूपमा राष्ट्रपतीय निर्वाचनमा भाग लिए भने हिलारी क्लिन्टनको प्रथम अमेरिकी महिला राष्ट्रपति हुने सपना पूरा नहुन पनि सक्छ । अधिकांश युवा र स्वतन्त्र मतदाताहरुले हिलारीको तुलनामा बर्नीलाई नै रोज्नेछन् । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा पार्टीमा आवद्द र पार्टीप्रति इमान्दार रहेका मतदाताहरुबाट भन्दा पनि स्वतन्त्र मतदाताहरुको मतबाटै निर्णित हुने परम्परा रहदै आएको छ ।  à¤œà¤¾à¤¤à¥€à¤¯, धार्मिक र लैङिक रूपमा अत्यन्त असहिष्णु देखिए पनि बर्नी स्यान्डर्सले जस्तै डोनाल्ड ट्रम्पले पनि स्वतन्त्र मतदाताहरु विशेष गरेर राजनैतिक पार्टी र नेतृत्वसँग रुष्ट भएकाहरुमाथि राम्रो प्रभाव पारेका छन् । डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन विरुद्ध उनको ती सबै कमजोर पक्षहरूमा प्रहार गर्नेछन् जुन बर्नी स्यान्डर्सले प्रारम्भिक निर्वाचनको चरणमा औल्याएका थिए । यस्तो अवस्थामा हिलारी क्लिन्टनलाई 'महिला'को कार्डले मात्र चुनाव जिताउन सक्दैन, बर्नी स्यान्डर्सको सद्भाव र सहयोगको आवश्यकता अनिवार्य छ । डेमोक्र्याटिक पार्टी र हिलारी क्लिन्टनले कसरी बर्नी स्यान्डर्सलाई आफ्नो चुनावी अभियानमा समाहित गर्छन् त्यो हेर्न केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ । तर बर्नी स्यान्डर्सको विकल्प यतिमा मात्र सीमित छैन । बर्नी स्यान्डर्सलाई आफ्नो पार्टीको उम्मेद्वारको रूपमा उठाउन कतिपय साना पार्टीहरूले पनि त्यतिकै प्रयास गरिरहेका छन् । बर्नी स्यान्डर्सले देखाएको बाटो र उनले गरेको आव्हानको फलस्वरुप यो चुनावी दौड भन्दा एक कदम पर समग्ररुपमा राजनैतिक व्यवस्थामा सुधार ल्याउन चाहने युवाहरुबाट तल्लो तहको राजनैतिक संयन्त्रहरुमा सहभागी हुने ग्रासरूट मुभमेन्ट सुरु भइसकेको छ । rpsitaula@gmail.com

बर्नी स्यान्डर्स


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक