जन सरोकारको नाममा कोलोराडोमा बसोबास गर्दै आउनुभएका समाजका प्रबुद्ध वर्ग सम्मिलित समूह जसले कोलोराडोको नेपाली समाज प्रति आफ्नो क्षेत्रबाट अमूल्य योगदान पुर्याउँदै समाजको अग्रगमनका निम्ति आफ्नो जीवनका महत्त्वपूर्ण समय खर्चीदै आउनु भएका अग्रज व्यक्तित्वहरुले कोलोराडोमा अस्तित्वमा रहेका नेपाली संस्था र त्यससँग सम्मिलित व्यक्तिहरू प्रति राखिएको सल्लाह सुझाव र मार्गदर्शन सहितको विचार विज्ञप्ति मनन योग्य छ । उहाँहरू सम्मिलित समूहको विचार प्रति समर्थन जनाउदै, विचार विज्ञप्तिमा समावेश केही सवालहरूमा मेरो विचार राख्न विनम्र अनुमति चाहन्छु ।
प्रकाशित विज्ञप्तिमा राखिएको एउटै व्यक्ति धेरै संस्थामा आवद्धताको प्रश्न जो उसको निष्ठा र संस्थाको हितको टकराव र कानुनी अप्ठ्यारो सम्बन्धमा छ, कानुनको कुरा बहसको विषय हुन सक्छ, किनकि म कानुनी अप्ठ्यारोको बारेमा त्यति जानकार छैन । जहाँ सम्म निष्ठा र संस्थागत हितको कुरा छ, निश्चयै कुनै व्यक्ति पदीय महत्वकांक्षा र पद लोलुपताले विभिन्न संस्थाको कार्यकारी पदमा बस्छ, उसले आफ्नो उन्नतिमा संस्थाको उन्नति देख्न सक्छ, त्यो बेला संस्था र समुदायको हित छाँयामा पर्न सक्छ । तर अमेरिका जस्तो व्यस्त जीवन शैली अनि पारिवारिक दाईत्यले जकडिएको जीवन, जसले विभिन्न संस्थाहरूमा बस्ने मन नहुदा नहुदै, सेवाभावमा समर्पित व्यक्तिहरूको न्यून उपलव्द्धताको अवस्थामा सामाजिक आग्रह र आवश्यकतालाई नकार्न नसकी नि:स्वार्थ सेवाभावले समर्पित हुन्छ, उसको निष्ठा प्रतिको आशंकाले, मनोबलमा आघात पुग्नुका साथै आफूले आफैलाई हिनता बोध र अपराधी महसुस गर्न सक्ने आधार तयार हुन सक्छ । भिन्न उदेश्य र कार्य क्षेत्र भएका संस्थामा बसेर कसैले योगदान गर्छु भन्छ भने मलाई लाग्दैन उसको निष्ठामा शङ्का र स्वार्थको टकराव हुन्छ । फेरी कुनै व्यक्ति कुवा बनाउन र बाटो खन्न लागि पर्छ भने त्यहाँ स्वार्थ टकरावको कुनै गुञ्जाइस नहुनु पर्ने हो । यदि संस्थाको विधानले एक भन्दा बढी संस्थामा बस्न नहुने किटान गरे बाहेक एउटा संस्थामा आवद्ध व्यक्ति अर्को कुनै संस्थामा बस्नु बिधानत: जायज ठहरिनु पर्ने हो । संस्थामा आवद्ध व्यक्तिहरूमा पनि राज्यको कानुन, संस्थाको विधान, विनियम र नियमावली सम्बन्धी न्यूनतम जानकारी राख्ने गर्छन् भन्ने अनुमानबाट टाढा हुनु हुँदैन ।
अमेरिकामा कानूनत संथागत हैसियतमा रहेका कुनै संस्थाहरूको राजनीति दलसँग आवद्धताको आशंका, हेर्ने दृष्टिकोणको फरक पन हो कि ? तर व्यक्तिगत जीवनमा कुनै पनि व्यक्ति आफ्नो आदर्श र विचारमा बाच्न स्वतन्त्र छ भन्ने मान्यतामा दृढ छु । तर उसको विचारले देशको कानुन, समाजको संरचना र भावनामा नकारात्मक असर पर्नु हुँदैन भन्ने कुरामा पनि उत्तिकै सचेत छु । जहा सम्म पद ओगटेर नबस्न र अरूलाई मौका दिन गरिएको आव्हानको सन्दर्भ छ, आवश्यकता र आग्रहको परिणाम स्वरूप म पनि एक भन्दा बढी संस्थामा आवद्ध भएको व्यहोरा प्रवुद्ध वर्गमा सम्मिलित मेरा आदरणीय अग्रजहरूलाई अनुरोध गर्दै, उहाहरू मार्फत यदि कोही व्यक्तित्वहरू म आवद्ध संथामा र मैले ओगटेको (!) पदमा आउन चाहनु हुन्छ भने अन्तर हृदय देखिनै उहाहरुलाई स्वागत गर्दै विलम्ब नगरी संथागत जिम्वेवारीबाट मुक्त भई परिवारको नजरमा एउटा जिम्मेवार पारिवारिक सदस्य र सामाजिक व्यक्ति भएर बस्न आतुर छु । कृपया मेरो भावनालाई कदर गर्दै कोही उत्साहित व्यक्तित्व हुनुहुन्छ भने आउनु हुन पनि अनुरोध गर्दछु ।
यदि विचार र दृष्टिकोणमा पूर्वाग्रह र आग्रहको उपस्थिति छैन भने, निश्चयनै समाजका अग्रज वर्ग जसले सम्भावना र भवितव्यको सही मार्ग दर्शन र सचेतताको निम्ति आफ्नो दृष्टिकोण राख्ने गर्छन्, जो आफ्नो जीवनको अनुभव र भोगाइले खारिएको विचार समाजमा प्रवाह गर्छन्, त्यो समाजको लागि मार्गदर्शन हुन्छ र हुनु पर्छ । त्यो विचार र अनुभवले नयाँ पुस्ताले धेरै सिक्ने अवसर प्राप्त गर्न सक्छ । जो वर्गको समूह हाम्रो कोलोराडोमा जुर्मुराएको छ, त्यो पक्कैपनि स्वागत योग्य छ । मेरो बिनम्र अनुरोध सहित निवेदन गर्न चाहन्छु, प्रवुद्ध वर्गको समूहमा एकै किसिमका "कद" भएका अग्रजहरू सम्मिलित भए त्यसले समाजमा बढी भरोसा र विश्यसनियता आर्जन गर्न मद्धत गर्ने थियो । आगामी दिनमा, कोलोराडोमा बस्ने नेपाली समुदाले भोगिरहेको विभिन्न अप्ठ्यारो परिस्थितिहरूलाई औलाउदै त्यसको समाधानको निम्ति बाटो देखाइ दिनु हुन्छ भन्ने आशा र भरोसा राखेको छु ।