Similar Articles

बिचार

अमेरिकी राजनीति गर्न नेपाली अमेरिकनको चन्दा मोह - गिरीश पोखरेल

बिराट नेपाल

अमेरिकामा बढ्दो नेपाली जनघनत्वसँगै अमेरिकाको राजनीतिमा चाख राख्ने र प्रत्यक्ष राजनीतिमा सम्लग्न हुन चाहने नेपालीहरू छिटफुट रूपमा देखिन थालेका छन् । जसलाई अमेरिकामा भएका नेपालीहरूले सकारात्मक रूपमा लिएका छन् ।

अमेरिकामा रहेका नेपाली मूलका अमेरिकनहरु नेपालको राजनीतिक पार्टी कार्यकर्ता भएर झोला बोक्ने झोलेहरुभन्दा अमेरिकाको राजनीतिमा सम्लग्न हुनेहरुप्रति अमेरिकामा बसोबास गर्ने नेपालीहरूले सकारात्मक रूपमा हेर्नु स्वाभाविक पनि हो ।

तर, यसो भन्दैमा आफूलाई नगर वा काउन्टी (अमेरिकाको तल्लो इकाई) को राजनीतिमाभन्दा पनि एकैपटक सिनेटर, कंग्रेसम्यान, राज्यस्तरको हाउस अफ रिप्रेजेन्टिभमा उमेद्वारी दिएर केही नेपाली मूलका अमेरिकीहरुले आफ्नो हैसियतलाई पानीको फोकाझैं बनाउँदैछन् । जसको मुख्य कारण चन्दा सङ्कलन हुन थालेको छ ।

फाट्फुट्ट नेपाली मूलका अमेरिकीहरु जो राजनीतिमा उमेदवारी दिने गर्दैछन्, उनीहरुप्रति नेपाली अमेरिकीमा कतै वितृष्णा त जाग्ने हैन भन्ने प्रश्न नेपाली समाजमा उव्जिन थालेको छ ।

यसै विषयलाई लिएर सन् २०१२ मा वासिंङटन राज्यबाट डेमोक्रयाटिक पार्टीबाट अमेरिकी कङ्ग्रेसका लागि उमेदवारी दिएका र हाल आएर राज्यस्तरको हाउस अफ रिप्रेजेन्टिभका लागि डेमोक्रेटिकका तर्फबाट उमेदवारी दिएका दर्शन रौनियारसँग जिज्ञासा राख्दा उनी भन्छन्, “अमेरिकामा रहेका नेपालीहरुबीच चन्दा उठाउनु नराम्रो होइन, अहिलेसम्म अमेरिकाको राजनीतिमा माथिल्लो स्तरमा नेपाली मूलका अमेरिकीहरु आउन सकेका छैनन् त्यसैले आम नेपालीको प्रतिनिधित्व अन्य कुनै राज्यबाट हुन्छ भने नेपालीहरूले नेपाली अमेरिकन कोही राजनीतिमा आउन चाहन्छ भने उसलाई सहयोग गर्न पछि पर्नहुँदैन ।”

सन् २०१२ को निर्वाचनमा अमेरिकी कङ्ग्रेसको हाउस अफ रेप्रिजेन्टिभका लागि जित्ने रिपव्लिकनका उमेदवारले २३ हजार २ सय ७६ (लगभग ३८%) मत ल्याएका थिए भने दर्शन रौनियारलाई १ हजार ८ सय ९२ (लगभग ३%) मत प्राप्त भएको थियो । त्यो समयमा समेत अमेरिकाका विभिन्न राज्यबाट रौनियारकै भनाइ अनुसार राम्रो चन्दा सहयोग प्राप्त भएको थियो ।

यति हुँदाहुँदै पनि आफूले जित्न नसके पनि राजनीतिमा निरन्तर लाग्नुपर्ने रौनियारले अमेरिकाका पूर्वराष्ट्रपति अब्राहन लिंकनले दसौँ पटक पराजित भएको उदाहरण दिन भ्याए ।

दर्शन रौनियारले यो पटक भने वासिंङटन राज्यका लागि स्थानीय हाउस अफ रिप्रेजेन्टिङका लागि उमेदवारी दिएका छन् । साथै, रौनियारले अमेरिका भर रहेका नेपालीहरुमाझ चन्दा सङ्कलनका लागि आह्वान गर्न थालेका छन् । रौनियारसहित गरेर जम्मा ४ जनाले डेमोक्र्याटिक पार्टीबाट प्रारम्भिक उमेदवारी दिएका छन् । जसमा उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नैपर्ने हुन्छ ।

रौनियार भन्छन्, “यो सुरुआत हो, यसैले अमेरिकाभिर झन्डै ३-४ लाख नेपालीहरू होलान्, तिनले एक कप कफी वा एक क्यान वियर पिउने पैसामात्रै दिनुभयो भने पनि मेरा लागि सहयोग हुन्छ । मैले आशा गरेको छु कि सबै नेपालीको सहयोग भयोभने म योपटक पक्कै जित्छु ।”

आफ्नो कार्यालय सञ्चालनका लागि समेत तपाईँले नेपालीहरूमाझ राजनीतिक सुरुवात यसपटक पनि चन्दाबाट गर्नुभएको छ भन्ने प्रश्नमा उनी भन्छन्; “अमेरिकाको चुनावमा धेरै ख़र्च हुन्छ, त्यसैले जोसुकैको पनि परिपाटी चन्दा सङ्कलन नै हो भन्दै आफूले नेपाली समाजमा सहयोगका लागि आह्वान गरेको हुँ ।”

रौनियारले प्रारभ्मिक निर्वाचनमा नै अरू ३ जनालाई उछिन्न पर्ने हुन्छ, जसका लागि सुरुवातमै चन्दा सङ्कलनमा लागेकामा भने यसपटक धेरै नेपालीलाई चित्त नबुझेको बताए ।

केही दिनअघिमात्रै मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी हेगनले मेरिल्याण्ड राज्यका लागि साउथ एसियन प्यासिफिक एफियर्स काउन्सिलमा नियुक्ति पाएका मेरिल्याण्ड निवासी डा. श्याम कार्की चन्दाका विषयमा भन्छन्, यसरी आफ्नो राज्यभन्दा बाहिर गएर चन्दा उठाउनु त्यति ठिक नभएको भन्दै यस अघि सन् २०१२ को निर्वाचनमा पनि अन्य राज्यका नेपालीहरूले चन्दा दिएका थिए, त्यो चन्दाको हिसाब-किताब निर्वाचन कमिशनलाई बुझाएका होलान् । तर, हामी नेपाली समुदायसँग चन्दा उठाएपछि हामीलाई पनि देखाउन पर्ने हो, त्यो पनि नआएकाले आफूलाई तरिका मन नपरेको भनाइ कार्कीको छ ।

अमेरिकामा समेत स्थानीय नेपाली समाजका लागि भनेर कहिले केही काम गरेको पनि थाहा भएन रौनियारजीले । तर, एकैपटक अमेरिकाको राजनीतिमा लागेर निर्वाचन लड्छु भन्दै नेपालीसँग पैसा उठाउनु जायज़ नभएको डाक्टर कार्कीको तर्क छ ।

यदि आन्तरिक प्रतिस्पर्धामा समेत पुग्ने आफ्नै क्षमता छैन भने उनी किन चन्दा उठाउँदैछन् ? मेरिल्याण्ड राज्यको इण्डियन हेड नगरका उप-मेयर किरण सिटौला प्रश्न गर्दै अगाडि भन्छन् “पहिले आफ्नो पैसा ख़र्च गरेर चुनाव लड्न परो, सानै ठाउँमा किन नहोस् । एक नेपालीले अर्को नेपालीलाई चन्दा मागेर हैन, काम गरेर स्थानीयतहमा देखाउन सक्नुपरो यस्तो हल्लाको राजनीति गर्नु अमेरिकी नेपालीहरूका लागि लज्जास्पद हो ।”

सिटौला थप्छन्; “यो तरिका भनेको उही नेपालमा रहेका आफन्त र नेपालीहरूका लागि म अमेरिकी राजनीतिमा छु है भन्न देखाउन गरिएको हल्ला मात्र होभन्दा केही फरक पर्दैन ।”

नेपालीहरूबाट चन्दा उठाउँछन्, त्यसको हिसाब-किताब खै ? होला क्रेडिट कार्डबाट सङ्कलन गरिएको रक़मको हिसाब किताब निर्वाचन कमिशनमा बुझाउलान् तर यहाँ त नगद-चेक लगायत व्यक्तिका नामबाट उठेको रक़मको लेखाजोखा निर्वाचन सकिएपछि हामी नेपालीबीच किन सार्वजनिक गरिदैन भन्दै उप-मेयर सिटौला यसअघिका सबै नेपाली अमेरिकन उमेदवारहरूले लेखापरीक्षण सार्वजनिक गर्न समेत आग्रह गरे ।

त्यसैगरी भर्जिनिया निवासी पत्रकार तथा रिपव्लिकन पार्टीका कार्यकर्ता समेत भनेर आफूलाई चिनाउने रामचन्द्र खरेल अर्को राज्यमा बसेर अरू अरू राज्यमा भएका नेपालीहरूसँग चुनाव जित्ने झिनो सम्भावना समेत नरहेको बुझीबुझी चन्दा उठाउनु ग़लत हो भन्दै यदि केही पैसाकै कारणले जित्न नसक्ने सम्भावना प्रमाणित गरेर कोही नेपाली अमेरिकन चन्दा माग्न आए भने नेपालीहरू चन्दा दिन तयार हुने खरेलको भनाइ छ ।

त्यसैगरी भर्जिनिया निवासी पत्रकार कृष्ण शर्माको विचारमा “अमेरिकामा नेपाली मतदाताहरू अति नै कम छन् यसैले विभिन्न राज्यमा रहेका नेपालीहरूबाट चन्दा लिने र म अमेरिकाको राजनीतिमा छु है भनेर नेपाल र नेपालीबीच सस्तो प्रचार प्रपोगण्डा मच्चाउने मात्र हो, यहाँको राजनीतिमा आउनु नै छभने तल्लो तहबाट राजनीति सुरु गर्नुपर्छ ।”

यस्तैगरी मेरिल्याण्ड राज्यकोतर्फबाट हाउस अफ रिप्रेजेन्टिभका लागि गत २ वर्षअघि डेमोक्र्याटिक पार्टीबाट उमेदवारी दिएका एचबी भण्डारीसँग अमेरिकाको कुनै राज्यमा कुनै पार्टीको तर्फबाट चुनाव लड्छ भने त्यसले अमेरिकाभरीका नेपालीहरुमाझ चन्दा सङ्कलन किन गर्छन् भन्ने प्रश्नमा उनीभन्छन्, ”अमेरिकामा निर्वाचनमा कोही लड्छ भने आफ्ना परिवार र साथीभाइहरुबीच चन्दा उठाउनु स्वभाविक हो । तर, हिजो स्वतन्त्र उमेदवारभन्दा पनि कम मत ल्याएर पराजित भएको व्यक्तिले पुनः निर्वाचनका लागि चन्दा माग्छ भने उसप्रति प्रश्न उठ्नु स्वभाविक हो, नेपालीहरूले उनका लागि किन फेरि चन्दा दिनुपर्ने ?”

भण्डारी भन्छन्, “अमेरिकी नागरिकता लिइसकेका त्यसमा पनि अमेरिकाको राजनीतिमा लागेर नेपालको राजनीतिक नेताहरूलाई यो भएन र त्यो भएन भन्न नहुने भन्दै हामीले जुन दिन अमेरिकाको राजनीतिमा प्रवेश गरेका छौँ त्यो दिनदेखि हामीले हाम्रो नेपालको राजनीतिक हैसियत गुमाइसकेका भन्दै नेपालको राजनीतिक विषयवस्तुका बारेमा अमेरिकी स्टेट डिपार्टमेन्टले जे बोल्छ, हामीले त्यसैलाई पछ्याउने हो । यहाँ बसेर नेपालका कुनै पनि दल विशेषका नेतालाई गाली गर्न नहुने उनको धारणा रहेको छ ।

भण्डारीलाई आफू निर्वाचनमा उठ्दा के-कति खर्च भयो भन्ने प्रश्नमा लगभग ६० हजार अमेरिकी डलर खर्च भयो, त्यसमा अझै आफ्नो ६-७ हजार ऋण रहेको उनको दाबी रह्यो ।

भण्डारीले पनि के कति रकम नगदमा वा के कसरी नेपाली समुदायमा उठाए चन्दा आह्वान गरे । तर, पनि हिसाब-किताब भने नेपाली समुदायमा सार्वजनिक गरेका देखिएनन् । अमेरिकामा बसेका केही बुज्रुकबिना तयारी अमेरिकाको राजनीतिमा लाग्न थाल्नाले राजनीतिमा लाग्दा नलाग्दै वितृष्णा जगाउने काम केही वर्षमा नै गराएका महसुस यहाँका नेपालीले गर्न थालेका छन् ।

राजनीतिमा जित हार हुनु स्वभाविक हो । राजनीतिमा निरन्तरता हुनुपर्छ । तर, जुन राज्यका लागि उमेदवारी दिएको हो, त्यो राज्यमा एक प्रतिशतभन्दा पनि कम मत प्राप्त गर्ने, तर अन्य राज्यमा उमेद्ववारी दिनेले पनि अमेरिका भरि नै आफ्नो उम्मेदवारीका लागि चन्दा सङ्कलन अभियानले अन्य राज्यमा भएका नेपालीहरूलाई पिर्न थालेको छ । अनलाइन खबरबाट साभार


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक