Similar Articles

प्रेस बिज्ञप्ती

नयाँ शक्ति नेपालको बुलेटिन

बिराट नेपाल

ललितपुर, १ वैशाख । नयाँ वर्षको दिन, प्रायः मानिसहरू नयाँ वर्षको उत्सव मनाइरहेका बेला लगनखेलको सञ्चयकोष भवनको तेस्रो तलामा पूर्व लडाकू लेनिन विष्टले प्रश्न गर्दै थिए, ‘युद्धको बेला योग्य भइयो, अहिले कसरी हामी अयोग्य ?’ 

लडाकू क्याम्पबाट बालसेनाको रूपमा निष्कासित भएका विष्टले २ लाख रुपैयाँ पाउने सरकारी आश्वासन अझै पूरा नभएको गुनासो गर्नुभयो । ‘अयोग्यको बिल्ला भिराइएका हामी अझै समाजमा फर्कन सकेका छैनौँ,’ विष्टले प्रश्न गरिरहँदा मञ्चमा हुनुहुन्थ्यो नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई, युएनडिपीको संक्रमणकालीन न्याय परियोजनाका व्यवस्थापक डेभिड क्रिस्टोफर र नयाँ शक्ति नेपालको सहिद, बेपत्ता, घाइते, अपांग एवम् द्वन्द्व प्रभावित व्यवस्थापन केन्द्रीय विभागकी संयोजक हिसिला यामी । 

दर्शकदिर्घामा सहिद बेपत्ता तथा द्वन्दपीडितसँगै हुनुहुन्थ्यो नयाँ शक्ति नेपालका आर्थिक विभाग प्रमुख रामेश्वर खनाल र प्रवक्ता खिमलाल देवकोटा । 
विभागले आयोजना गरेको संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सिन्धुलीकी गीता कार्कीले उस्तै लयमा सोधिन्, ‘माओवादीतर्फका मृतकलाई सहिद घोषणा गरिए पनि सेना तथा प्रहरीलाई किन सहिद घोषणा नगरिएको ?’ उनले अगाडि थपिन्, ‘शान्ति सम्झौतापछि पनि द्वन्द्वपीडित सेना, प्रहरी तथा सरकारी निकायलाई परिचयपत्र वितरणमा किन विभेद गरिएको छ ?’

यी र यस्तै प्रश्नहरूको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराईले बेपत्ता तथा द्वन्द्वपीडितको समस्याप्रति राजनीतिक दलहरू उदासीन रहेको बताउनुभयो । ‘झन् बढी जिम्मेवार हुनुपर्ने माओवादी धाराहरु विभाजनका कारण झन् बढी उदासीन देखिएका छन्,’ उहाँले भन्नुभयो । 

‘म प्रधानमन्त्री भएको बेला तत्काल राहत दिने निर्णय गरेको थिएँ,’ भट्टराईले स्मरण गर्दै भन्नुभयो, ‘तर अन्य राजनीतिक दलहरू, केही गैरसरकारी संस्था र अदालतले समेत उक्त निर्णय कार्यान्वयन गर्न दिएनन् ।’

उहाँले बेपत्ता तथा द्वन्द्वपीडितको समस्यालाई सबैको साझा समस्या बताउँदै यसको ठिक ढङ्गबाट समाधान नभए अर्को द्वन्द्वको खतरा रहेको बताउनुभयो । 

‘यसअघि भएका सबै सम्झौताहरु पालना गरिनुपर्दछ,’ अदालततर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘अदालतको भूमिका शान्ति प्रक्रियासम्मत हुनुपर्नेमा अपेक्षाकृत सकरात्मक नहुँदा यसले झन् जटिलता थप्ने काम गरेको छ ।’

कार्यक्रममा सहभागी अर्का द्वन्द्वपीडित सुमन अधिकारीले द्वन्द्वको बेला मानवीय पक्षमा ध्यान नदिइएको र द्वन्द्व समाधानमा सरोकारवाला पक्ष गम्भीर नभएको गुनासो पोख्नुभयो । २०६० सालमा आफ्नी दिदी बेपत्ता भएकी् र अहिलेसम्म कुनै खबर नभएको भन्दै तनहुँकी ओमकुमारी पौडेले राज्यले जवाफ नदिएकोमा आक्रोश पोख्नुभयो । कार्यक्रममा सहभागी बेपत्ता राजेन्द्र ढकालकी जीवनसंगिनी विमला ढकालले एनजिओर मानवअधिकारवादी संस्थातर्फ सङ्केत गर्दै सहिद तथा बेपत्ता परिवारको फोटोको व्यापार भइरहेको भन्दै व्यापार भन्दा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । 
ह्वील चेयरमा कार्यक्रम स्थलमा पुगेका सूर्यमान नेपालीले २०५७ मङ्सिर ८ गते ४ वटा गोली लागेपनि शान्ति मन्त्रालयबाट अहिलेसम्म भत्ता नपाएको र भत्ताको लागि धाउँदा ३ लाख ट्याक्सी भाडा मात्रै खर्च भएको गुनासो गर्नुभयो । 

उहाँको प्रश्न थियो, ‘द्वन्द्वपीडितको नाममा आएको रकम कहाँ जान्छ ?!
कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुको गुनासोको जवाफ दिँदै नेता भट्टराईले द्वन्द्वको घाउ कोट्याएर थप द्वन्द्वमा जाने भन्दै इतिहास बडो निर्मम भएको स्मरण गर्नुभयो । संसारको इतिहासमा ५ हजार वर्षमा ७ हप्ता मात्रै युद्ध नभएको सन्दर्भ उल्लेख गर्दै थुप्रै मानिसहरू मरेको र त्यसको प्रतिशोधमा आएर समाधान नहुने बताउनुभयो । 

द्वन्द्वकालीन समस्या समाधानको उपयुक्त थलो मेलमिलाप तथा बेपत्ता आयोग नै रहेको उहाँको ठम्याई थियो । क्षति हुनेलाई राज्यले राहत दिनैपर्ने भन्दै उहाँले सेना र प्रहरीलाई तत्कालीन सरकारले ७ लाख राहत पहिले नै दिएको बताउनुभयो । ‘दुवै पक्षलाई अन्तरिम राहत दिनुपर्छ र पछि सत्य निरुपण आयोगले दिएको विवरण अनुसार क्षतिपूर्ति दिनुपर्छ ।’

अहिले युद्धरत र सरकार दुवै पक्ष नभएको र दुवै पक्ष एउटै पक्षमा रूपान्तरण भएकोले पीडा हल गर्न सामूहिक प्रयत्न गर्नुपर्नेमा भट्टराईले जोड दिनुभयो । नयाँ शक्ति नेपालले नयाँ वर्षको सन्दर्भमा सहिद, बेपत्ता, घाइते, अपांग एवम् द्वन्द्व प्रभावितहरुप्रति समर्पित अन्तरक्रिया कार्यक्रममा विभागकी संयोजक हिसिला यमीले नेपालमा दलहरुबीचमा अन्तजस्तो तिक्तता नभएकोले सहिद, बेपत्ता र द्वन्द्वपीडितको समस्या तत्काल समाधान हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युएनडिपीको संक्रमणकालीन न्याय परियोजनाका व्यवस्थापक डेभिड क्रिस्टोफरले संक्रमणकालीन न्याय सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान गर्नुभएको थियो ।  

उहाँले नेपालमा द्वन्द्व सम्बन्धमा काम गर्ने सरोकारवाला निकायले राम्रोसँग कार्यसम्पादन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले विद्यमान द्वन्द्वका प्रभावहरुलाई सही व्यवस्थापन गर्न नसक्दा अर्को द्वन्द्व सुरु हुने खतरा औंल्याउनुभयो । क्रिस्टोफरले अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनका अनुभवसँग नेपाली अभ्यासको तुलना गर्दै नेपालमा सरोकारवाला निकायहरूले द्वन्द्व सम्बन्धी मुद्दाहरुलाई राजनीतिकरण गरेर मूल मुद्दाहरुलाई ओझेलमा पार्ने गैरजिम्मेवारीपूर्ण काम गरिरहेको आरोप लगाउनुभयो । 
 
खिमलाल देवकोटा
प्रवक्ता


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक