प्रेस बिज्ञप्ती
बिराट नेपाल
2016-07-07
जुलाई ६, २०१६ |
यस नेपाली जन सम्पर्क समिति,अमेरिकाले गत वर्ष भूकम्प पीडितहरुको सहयोगका लागि सङ्कलन गरेको रकम हिनामिना गरेको भन्दै विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका समाचार र टिप्पणीहरुप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ | भूकम्प पीडितका लागि संकलित सहयोग रकम पार्टी,भोज भतेर,संस्थाका अन्य कार्यक्रम लगायत अन्य कुनै प्रयोजनमा खर्च नगरिएको र नगरिने समेत प्रस्ट पार्दछौं |
भूकम्प पीडित वा अन्य जुनसुकै शीर्षकमा संकलित भएको रकम सम्बन्धित प्रयोजनका लागि मात्र खर्च गरिने र सहयोगी,शुभेच्छुक एवं दाताहरुबाट समितिलाई प्राप्त भएको रकम दुरुपयोग र हिनामिना हुन नदिन नेपाली जन सम्पर्क समिति,अमेरिका सम्बन्धित सबैसँग प्रतिबद्धता जाहेर गर्दछ | यस सम्बन्धी सार्वजनिक भएका समाचारहरुका कारण समितिका सदस्य,शुभेच्छुक र सहयोगीहरुमा पर्न गएको भ्रमप्रति हामी प्रस्ट पार्न चाहन्छौँ |
यस समितिको बैङ्क अफ अमेरिकामा रहेको बैङ्क खाताबाट केन्द्रीय समिति र म स्वयम् सभापतिलाई समेत कुनै जानकारी नदिई अनधिकृत रूपमा महासचिव र कोषाध्यक्षले संयुक्त हस्ताक्षर गरी चेक मार्फत पटकपटक गरी पैँतालिस हजार पाँच सय डलर निकालिएको प्रमाण भेटिएपछि समितिका कानुनी सल्लाहकार श्री खगेन्द्र जीसीसँगको परामर्शपछि जुन ३० तारिख बिहीबार तत्कालै केन्द्रीय समितिको आकस्मिक बैठक आव्हान गरेको सम्बन्धित सबैलाई जानकारी गराइन्छ | यो रकम निकालिएको बारे जानकारी प्राप्त गर्दा नेपाली जन सम्पर्क समिति,अमेरिका स्तब्ध हुन पुगेको छ | समितिका जिम्मेवार पदाधिकारीहरुबाट विना जानकारी,अनधिकृत रूपमा यसरी हजारौँ डलर निकालेको बारे सत्य तथ्य पत्ता लगाई यस सम्बन्धमा दोषी उपर आवश्यक कारबाही गर्न समितिको जुन ३० तारिखको केन्द्रीय समितिको आकस्मिक बैठकले पाँच सदस्यीय छानबीन समिति समेत गठन गरेको जानकारी गराइन्छ | केन्द्रीय सदस्य अमृत भट्टराईको संयोजकत्वमा केन्द्रीय सदस्यहरू वेदप्रसाद खरेल,लोक लामा,सुभेन्द्र रानाभाट र सुवास लामा सदस्य रहेको छानबीन समितिलाई दश दिनको समय सीमा तोकी जिम्मेवारी प्रदान गरिएको छ | यस सम्बन्धी भए गरिएका निर्णयहरुको जानकारी नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा प्रेषित समेत गरी सकिएको छ |
समितिले हाल यस बारे आन्तरिक छानबीन जारी राखेको हुँदा अहिले नै अनावश्यक रूपमा तथ्यभन्दा बाहिर गएर समाचार प्रकाशित नगरिदिनु हुन र सामाजिक संजालहरुमा समेत अनावश्यक टिका टिप्पणी नगरिदिनुहुन हामी सम्बन्धित सबैमा आग्रह गर्दछौँ |
छानबीन समितिले आफ्नो प्रतिवेदन पेस गरेपछि दोषी जोसुकै ठहरिए पनि केन्द्रीय समिति बैठक मार्फत हामी त्यस्तो पदाधिकारी वा सदस्यलाई समितिको विधान र प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याई खाताबाट निकासा गरिएको रकम फिर्ता गराई समितिको सम्पूर्ण रकम र हर-हिसाब विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ | साथै छानबीन समितिको प्रतिवेदन नेपाली काँग्रेस केन्द्रीय समिति समक्ष पेस समेत गरिनेछ |
आनन्द विष्ट
सभापति,नेपाली जन सम्पर्क समिति,अमेरिका
Post Comments Using Facebook
Your Comments