Similar Articles

कथा लघुकथा

मासुको तिर्सना- मन्दिरा मधुश्री

बिराट नेपाल

“गजेन्द्र साहुकोमा दाउरा चिर्न छ अरे, भोलि बिहानैदेखि पठाइदे भनेर गाका छन् ।” सुन्तलीले ढिढोको डल्लो थपिदिँदै कालेलाई दिउँसोको खबर सुनाइदिई ।

“को आको थियो खेतला भन्नलाई ? कालेले सोध्यो”

“गजेन्द्र साहु आफै आका थे । कुन्नि कताबाट हो आशामी उठाएर आका अरे । जसरी भए पनि पठाइदे भनेर गका’छन्” सुन्तलीले पुनः स्पष्ट पारी ।

कालेले गाँस छुट्याएको ढिंडोको सानो डल्लो हातले खेलाउदै टोल्हाएर भन्यो– “खै के गरौँ गरौँ । तोरी छर्दा ल्याएको माझा घरको गोरुको दुईवटा पर्म तिर्न वाकीँ नै छ । त्यसैले भोलि मल बोक्नलाई उसले बिहानै खेताला भनेको थियो । मैले हुन्छ भनेको थिएँ । अब यता नजाउँ भने साहु रिसाउँछन्, फेरी गाह्रो सारो परेको बेला उनकै शरणमा सहयोगको भिख माग्न जानुपर्छ, कुन मुख लिएर जानु ? उता नजाउँ भने गोरु ल्याएर जोतेको तीन महिना भइसक्यो । तोरी छर्न जोत्न ल्याएको, अहिलै तोरी पाक्न आँटिसक्यो अझ पनि पर्म तिर्न बाँकी नै छ । फेरी मकै छर्नलाई चाहिने बेला हुन आँट्यो के भन्दै गोरु माग्न जानु ?“ कालेले आफूभित्र मडारिएको अन्र्तद्वन्द्वलाई एकै सासमा उकेल्यो ।

“भैगो त ! गोरुको पर्म पछि तिर्दै गरुँला नि । माझाघरे दाइ त  à¤•à¥à¤°à¤¾ बुझ्छन नि । उनी पनि हामी जस्तै त हुन नि । फेरी, उता साहुकोमा गएन भने त रिसाएर चौपटै हुन्छ । अनि दसैँ मान्न ल्याएको खर्च तिर भन्दै आए भने के गर्नु लौ ? त्यही भएको एक फोग्टो बारी पनि खोसेर लगे भने के हुन्छ भन त ? त्यसैले भोलि बिहानै साहुको मै जाऊ ।” सुन्तलीले साहुकोमा नजाँदा भोलि पर्नसक्ने परिणामको संभाव्यता व्यक्त गरी । कालेले गाँस छुटाएको डल्लो हातमा खेलाइमात्र  à¤°à¤¹à¤¯à¥‹ । उठाएर मुखसम्म लान उसलाई पटक्कै मन लागेन । आफूमाथि आइलागेको परिबन्दलाई संझदै जुरुक्क उठ्यो, अनि पानीको लाहोेटा टिपेर जुठेल्नातिर लाग्यो । चुठेर आएपछि ऊ अंगेनाको डिलमा ओच्छयाइ राखेको गुन्द्रीमा डङ्ग्रङ्ग उत्तानो परेर पल्ट्यो । साहुकोमा गयो भने धानको भातचाहिं भेटिन्छ होला भन्ने कल्पना गर्दागदै ऊ कतिखेर भुसुक्कै निदायो ।

भोलिपल्ट बिहानै काले गजेन्द्र साहुकोतिर लाग्यो काँधमा बनचरो बोकेर । साहु दलानमा राखेको खाटमाथि बसेर तमाखु गुटुर गुटुर पारिराखेको थियो । कालेलाई देख्ने बित्तिकै “ए तँ आइपुगिस भन्दै कुटिल मुस्कानका साथ जुगाँ मुसारे । उनले खोपामा राखेको सालको पात (टपरी) र सुर्ती दिए र कालेको आथित्य सत्कार गरे । काले बिंडीं बेर्न थाल्यो । साहुले “आज यति दाउरा चिरिसक्नु पर्छ” भनेर अराए ।
दिउँसो कार्की गाँउको माइला कार्कीको छोरो “घरमा खसी काट्ने अरे, मासु खाने भए लिन आउनु अरे” भन्दै साहुलाई बोलाउन आयो । काले  à¤†à¤à¤—नमा दाउरा चिरिरहेको थियो । साहु एकछिनपछि मासु लिन गाँउतिर लागे । मासुको नाम सुन्ने बित्तिकै कालेको मुखमा सरर् पानी आयो । हुन पनि दसैँ पछि उसले मासु देखेकै थिएन ।

मुखमा भरिएको पानीलाई घुटुक्कै निल्दै उसले सोच्यो– “आज साहुकैमा बस्न पाए त धानको भात र मासु त खान पाइन्थ्यो । मुखपनि फेरिन्थ्यो । तर के उपाए गरेर पो बस्नु ?” यस्तै सौच्दै कालेले साहुकैमा बस्ने अठोट ग¥यो । त्यसैले ढिलो ढिलो गर्दै उसले साँझसम्म दाउरा चिरिरह्यो ।
 à¤¦à¤¾à¤‰à¤°à¤¾ चिर्न अझै सकिएको थिएन । उता साहुपनि मासु लिएर आए । दाउरा चिर्न अझ बाँकी देखेर उनले कालेलाई हप्काउदै भने– “के हो ए काले अझै सकिनस् ?”

“खै हजुर ! दिनभरि टुसुक्क नबसिकन चिरिरहेको छु तर अझै सकिएको छैन । बरु आज यहीँ बसेर भोलि बिहान भरीमा सकिदिन्छु है हजुर !” कालेले धनुष्टंकार गरेर दश औंला जोडयो । धन्न ! साहुले अह्राएको कामको बफादारिता सम्झेर हुन्छ भन्ने सङ्केत  à¤¦à¤¿à¤ । आफ्नो भित्री योजना सजिलै सफल भएकोमा कालेले मनमनै ईश्वरलाई धन्यवाद दियो ।

काले एक त जातमा पनि साहुभन्दा सानो, अर्को तन्नम गरिब । उसलाई घरभित्र गएर बस्ने अधिकारमाथि शायद जातियताको अहमपनाले प्रतिबन्ध लगाएको थियो । त्यसैले दलानमा गुन्द्री ओच्छाइदिएर गजेन्द्र साहुकोमा उसको अतिथि सत्कार गरियो । ऊ त्यही गुन्द्रीमा घुँडामा टाउको टेकाएर बस्यो । जे होस, आज साहुकोमा मीठो मासु भात खान पाउने आशामा ऊ दङ्ग परेको थियो । उसले घरमा सुन्तलीले प्रायजसो पस्कने मकैको भात र ढिंडो, मुलाको गुन्द्रुक र अलिकति मिठो भनेको आलुको चानामा हालेको झोल संम्झयो र एक चोटि मुख बिया¥यो ।
औंशीको रात ! बाहिर चुक घोप्टाएको जस्तो अँध्यारो थियो । भोकले र थकानले ऊ लखतरान भएको थियो । कतिखेर पुर्लुक्क पल्टेर “ढाड सोझाउन पाउँजस्तो” भएको थियो । तर पल्टेपछि फेरी निदाइहालियो भने भात खान नपाइने हो कि ? त्यही डरले ऊ पल्टन पनि सकेन । दिउँसो साहुनीले दिएको खाजा मकै, भटमास र गुन्द्रुकले पनि अघि नै आफ्नो अस्तित्व छोडिसकेको थिए । कतिखेर नेपथ्यबाट खाना बोलाइने हो भनेर कानलाई चनाखो बनाएर काले बसेको थियो ।

लामो समयको प्रतीक्षा पश्चात् बल्ल गजेन्द्र साहु हातमा बत्ती लिएर “काले ! सुति सकिस” भन्दै बाहिर निस्के ।
कालेले “छैन हजुर” भनेर जवाफ दियो । साथै साहुनी पनि एक हातमा हलुंगेको थाल र एक हातमा गिलास लिएर बाहिर निस्किन् । अनि कालेलाई सहानुभूति देखाउदै भनिन् “दिनभरि काम गरेको भोक लागिसक्यो होला । भात खान बस है काले ।” कालेले प्रश्न्न हँुदै भन्यो “हस हजुर ।”

साहुनीले थाल र गिलास भुइँमा राखिदिइन् । कालेले उत्सुक्तावस  à¤¥à¤¾à¤²à¤®à¤¾ हे¥यो । थालमा आँखा पुग्नेबितिकै ऊ खग्रङ्ग भयो । थालमा उसले सोचेअनुरूपको खानेकुरा थिएन । न त त्यहाँ धानको भात थियो न त मासुको चोक्टा नै । ऊ खाने कुरा हेर्दाहेर्दै त्यसै टोल्हाएर सोच्न थाल्यो– “यो खाने कुरा त हाम्रो झोपडीमा पनि सधैँ त पाक्छ नि । यत्रा ठुला साहुको घरमा पनि यही पाक्छ ? कति न मिठो खान पाइन्छ भनेर बसेको त ! यही दिन्छन् भनेर जानेको भए त आफ्नै घरमा गइहाल्थेँ नि । कमसेकम घरको च्याँख्लोमा स्वास्नीको माया त मिसिएको हुन्छ ..........। यी गरीबमारा साहुहरू । डर धम्की र करकापले जसरी भए पनि गरिबका पसिनामात्र खान खोज्छन् । तर गरिबको त मनै होइन । आत्मै होइन भनेझैँ सोच्छन् । शोषक उडुसहरू.......। एकमुठी भात खान दिन पनि लोभले सक्दैनन्........। कालेले मनमनै भए पनि आब्रेश पोख्यो ।

काले टोल्हाएको देख्दा साहु कड्किए– “हैन के भयो है काले तलाई ?”
“केही हैन हजुर ! बिहान म हिँड्दा सानो छोराले साहु बाकोमा जाउली भात खान म पनि जान्छु भन्दै झगडा गरेको थियो । मैले भरे म आउँदा ल्याइदिन्छु भनेर फकाएर आएको थिएँ । अहिले खाने बेलामा त्यही छोरो झलक्क सम्झिएँ बिचरा ! मेरो बाटो हेरिरहेको होला । कालेले स्वभाविक हुँदै भन्यो ।

साहु–साहुनीले मुखामुख गरे । साहुनीले ओठ लेप्राइन् । अनि हर्कादै गोहीका आशँु झारिन– “भोक लागेको होला, कतै नसम्झी  à¤–ुरूखुरु खा ।” यति भनेर दुवै दम्पति भित्र पसे । कालेलाई थालमा भएको च्याँख्लाको भात र इस्कुसको तरकारी “नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार” भयो । उसले बलेँसीमा गएर हात पखाल्यो अनि आएर कपाकप भोक मार्न थाल्यो ।

च्याँख्लाकै भात भए पनि कालेलाई मासुको चाहिँ लोभ थियो । मासु नै पाकेको छैन होला, पछि पाकेपछि देलान् यो चाहिँ खादैँ गर्नुप¥यो भनी मन बुझायो । शायद भात थप्दा मासु दिन्छन् होला भन्ने लोभले उसले अघाएर पनि भात थप्यो । तर साहुनीले उही च्याँख्ला र स्कुसका चाना ल्याएर दिइन् । मासुको आसमा तरकारी च्याख्लाको डल्लोले छोप्यो र पुनः तरकारी माग्यो । साहुनीले फेरी पनि स्कुसको चाना नै ल्याएर दिएपछि “मासु पाकेको रहेनछ” भनेर चित्त बुभायो उसले ।

काले अघि नै अघाइसकेको थियो । अरू भात उसले खाएन । आफू छेउमा बसेर अघिदेखि गाँस गनिरहेको पाँग्रे कुकुरलाई सबै भात आँगनमा लगेर घोप्टाइदियो । अनि थाल र गिलास पखालेर ढोकानेर ठड्यायो र त्यही गुन्द्रीमा बस्यो ।
भित्रबाट मासुको बासना (गन्ध) आउन थाल्यो । कालेले गन्धमा अल्झिरहेको उसको आत्मालाई आफैँले सान्त्वना दियो– “मलाई भोक लाग्यो भनेर पहिले भात खान दिएका होलान्, मासु त भर्खर पो पाक्दैछ क्यारे । पाकेपछि त दिइहाल्छन नि ।”

उसका आँखा र कान ढोकातिर नै एकोहोरिएका थिए । कसाँैडीमा चलाउंदा डाडु ठोकिएको कन्ट्यागँँ कुन्टगं आवाज पनि आउँथ्यो बेला–बेला । मासुको सम्झनासँगै उसको मुखमा सरर पानी आइहाल्थ्यो । भित्र कोही हिँडेको आवाज सुन्यो कि ऊ सर्तक भइहाल्थो । मासु लिएर “खान उठ्” भन्दै कोही आउँछ कि भनेर उत्सुकतावस ढोकातर्फ च्याउँथ्यो । तर अफसोच त्यहाँ कोही आएन । उसले भरसक आफ्नो मनलाई अन्त कतै लगेर अल्मल्याउन खोज्यो तर पापी मन अन्त कतै अडिएन । त्यही मासुको तृष्णामा दौडेर पुगिहाल्थ्यो । रसाएर मुखमा भरिएको पानीलाई उसले थुक्न पनि सकेन । घुटुक्क निल्थ्यो बेलावेला ।

आशै आसमा उसले लामो समय प्रतीक्षा ग¥यो । मासुको लोभले उसले निन्द्रा बिस्र्यो । थकाइ बिस्र्यो । रातको प्रथम प्रहर पनि बित्न लागेको थियो, एउटा उज्यालो भित्रबाट निस्कियो । काले मासु ल्याइदिए भनेर निकै खुसी भयो । तर साहुले सुत्नलाई लुगा ल्याइदिएको रहेछन् । एउटा राडी र एउटा ढुस्सा भुइँमा फ्याँकिदिए अनि “ल है सुत” भन्दै उनी भित्र गए ।

कालेसँग साहुनीले अझै पनि उसलाई मासु दिन्छिन् भन्ने आशा बाँकी थियो । ध्यान भित्र पटि नै राखेर ओच्छ्यान लगायो । खै त “मासुु थाप हैै काले” भन्दै साहुनी आइनन् त । कि त बिर्सेका पो हो कि ?

उसले एउटा उपाय सोच्यो । दिउँसो खाएर बाँकी भएको ठुटे बिंडि निकाल्यो कानमाथि राखेको र “साहुनि आगो दिन त..” भनेर बोलायो ढोकातिर हेरेर । उसलाई आगो भन्दा पनि मासुुको लोभ थियो । आगोसँगै मासु पनि ल्याइदिन्छन् भन्ने आस थियो । घरक्क पारेर साहुले ढोका खोलेर ला..भनेर आगोको अगुल्टो तेर्साए कालेतिर । अहँ, अगुल्टोको मधुरो उज्यालोमा साहुको हातमा मासुको कचौरा वा अरू केही पनि देखेन । ढोका खोल्दा ह्वास्स तातो हावासँगेै मासुको मिठो बास्ना पनि कालेको नाकमा आएर ठोकियो र पानी  à¤ªà¤¨à¤¿ भरियो मुखमा । कालेले मुखमा भरिएको पानी घुटुक्क निल्यो र अगुुुुल्टो समाएर बिँडी सल्कायो । साहु भित्र पसेर ढोका लगाए । भित्रबाट बेला बेला डाडुले मासु चलाउँदा कसाँैडी बजेको आवाज पनि आउन अघि देखि नै बन्द भएको थियो  à¥¤

कालेले ठुुटे बिँडीको धुुवाँ तान्दै ढोकातिर नै हेरिरह्यो । बिँडी को तितो धुवाँ तानेपनि मनले मासुको स्वाद लिइरहेको थियो । बिँडी जलिसकेर हात पोल्दा मात्र ऊ झसँग भयो र आँगनतिर फ्याँक्यो बाँकी ठुटोलाई । मुखभरि बिँडिको तितो थुक भरिएपनि यसपटक पनि उसले  à¤˜à¥à¤Ÿà¤•à¥à¤• निल्यो त्यसलाई ।  à¤•à¤¿à¤¨à¤•à¤¿ त्यसमा मासुको पनि स्वाद मिसाएको थियो उसले ।

उसलाई लाग्यो, पक्कै पनि बिर्सेका होलान् मासुु दिन मलाई । यसरी बिर्सन त नपर्ने  à¤¹à¥‹ । केहीबेर त्यत्तिकै घोरिएर बसिरह्यो । घँुडामाथि टाउको राखेर । कुन्नि के सोचेर हो जुरुक्क उठ्यो र ढोकाको अगाडि गयो अनि निहुरेर ढोका तान्ने प्वालबाट चिहाउन थाल्यो ।

भित्र साहु–साहुनी मासुभात खाँदैथिए । उनीहरूले जतिपटक हातले गाँस उठाउँछन्, त्यति नै पटक कालेले थुक निलिरह्यो घुटुक घुटुक । मुख मिठ्याइरह्यो । अन्तमा साहुनीले कसौंडीको सबै मासुु सकेर भात हालेर पुछपाछ पारेर खन्याएपछि भने उसलाई औडाहा भयो । रिंगटा चले जस्तो भयो । उभिएर हेरिरहन नै नसक्ने भयो । खै के भयो भयो भित्रैदेखि हुँडलिएर आयो । चित्त काटियो । डाँको छोडेर रुन मन लाग्यो । उसले भित्र हेरिरहन मन गरेन । फनक्क फर्कियो अर्काेपटि र  à¤…घि ओच्छ्याइराखेको ओच्छ्यानमा गएर बस्यो ।

काले किन हो किन चुप लागेर बस्नै सकेन । मनले मान्दै मानेन उसको । कतै पहिले नै मेरोलागि भाग छुट्याएर छेउतिर राखेको पो छ कि ? उसलाई यस्तै लाग्यो । यसै भनेर मनलाई सान्त्वना दियो । तर मनले पत्याउन पनि चाहेन र नपत्याउन पनि । त्यसैले ऊ फेरी उठ्यो र ढोकामा गएर अघिकै जसरी भित्र चिहाउन थाल्यो ।

भित्र साहु तमाखु तान्दै थिए अँगेनानेर बसेर । साहुुुनी मझेरीमा भाँडा मस्काउँदै थिइन् । दुवै अघि खाएको मासुकै बारेमा कुरा गर्दै थिए । “साँच्चै राम्रो मासु दिएछ कार्काीले हगी ? हड्डी पनि त्यही एउटा नलीखुट्टाको ठुलो र अरू दुई चारवटा साना बाहेक त थिएन हैन ?” साहुले सोधे ।
“हो त..। भुटुवा पनि पक्कु जस्तै मीठो भएछ । झोल पनि बडो स्वादिलो । मैले त सर्दी नै जाने गरी पिएँ । आनन्द आयो मलाई त ...। ”साहुनीले थपिन् ।

कालेले पनि मासुको स्वाद सम्झँदै मुखमा भरिएको पानी घुटुक्क पार्याे । आँखा उनीहरूबाट हटाएर अँगेनाको छेउछाउ वरपर सबैतिर दौडायो । अहँ कतैपनि केही भाँडो देखेन, उसको भाग राखेजस्तो । कालेले चारैतिर आँखाले भ्याएसम्म हेर्याे तर कतै देखेजस्तो लागेन । तै पनि ऊ आशा बोकेर भित्रै चिहाइरह्यो । भित्र साहु तमाखु खाईसकेर सुुते । साहुनी पनि धन्दा सकेर सुत्ने तरखर पो गर्न लागिन ।

काले सल्याक सुलक भयो । उभिनै नस्क्नेजस्तो भएपछि निराश भएर फर्कियो अघिकै जस्तै अनि ओच्छ्यानमा पल्टियो । धुस्साले मुख छोपेर निदाउने कोसिस गर्याे । अहँ मन कता कता भागिरहेको थियो । के के खोजिरहेको वा केही पर्खिरहेकै जस्तो थियो । कति काबुमा ल्याउन खोज्यो । दशँैमा खाएको मासु सम्झेर चित्त बुझाउन खोज्यो तर पटक्कै सकेन । पालै पालो कोल्टे फेरिरह्यो तर मन निन्द्रामा पटक्कै लागेन ।

काले फेरि उठेर बस्यो । अनि झिनो आशा बोकेर “साहुनी पानी खान दिनुन” भनेर माग्यो । पक्कै पनि यसपटक त “तँलाई त मासु दिनै बिर्सिराखेको  ..। ला मासुपनि खा” भनेर मासुको कचौरा पनि आउँछ भन्ने लागेको थियो ।

ढोकाको प्वालबाट बत्तीको उज्यालो बाहिर छिरेपछि काले चनाखो भएर ढोकातिर नै हेरिरहेको थियो । साहुनीले ढोका खोल्दै “आ..., कतिथोक चाहिएको यसलाई पनि । घरी आगो, घरी पानी...। ला पानी ..। हैन किन नसुतेको यतिखेर पनि ? घरको ओछ्यान सँझिस् होला हैन ??” भन्दै पानीको लोहोटा दिइन् ।

“खै के भो के, पटक्कै निन्द्रै लाग्दैन” भन्दै साहुनीको हातमा हेर्याे उसले  à¥¤ एक हातमा बत्ती र अर्काै हातमा पानीको लोहोटा बाहेक उसले आशा गरेको चिज केही पनि देखेन साहुनीको हातमा । खँग्रग भयो काले । लोहोटा समाउन दिएर साहुुनीले ढोकाको आग्लो खुत्रक्क लगाइन भित्र पसेर । दुःख मान्दै अतृप्त आशा वा तृष्णा बोकेर ऊ पनि पल्टियो र एकछिनको छटपटीपछि दिनभरिको थकाइले गर्दा भुसुक्क निदायो ।
बिहान चराहरू चिरविराउन थालेपछि काले ब्युँझियो । ऊ नजिकै बसेर पाँग्रेले नली खुट्टाको ठुलो हडडी ल्याएर स्वाद मानी–मानी चपाउँदै थियो । कालेले त्यो दृश्य हेरिरहयो । उसको मुखमा पनि सरर पानी त आयो तर यसपालि भने उसले मुखमा भरिएको त्यो पानी निलेन । आँगनतिर पिचिक्क थुकिदियो । त्यो थुकमा उसको गरिबी र साहूप्रतिको घृणा पनि मिसिएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक