Similar Articles

कथा लघुकथा

ढुङ्गाको देवता - रवीन्द्र समीर

बिराट नेपाल

( लघुकथा )

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो। अनि अलिकति अबिर, अलिकति फुल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो – हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको नसके लोकल कुखुरो चढाउँला।

अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्‍यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो। 

बच्चालाई कठैवरा, बिचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठुलो भीड ढुङ्गाको वरिपरि लाग्यो – पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शिवाद लिन।

त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्‍यो, सृष्टिको रोलक्रम अनुरूप उसको पालो मिचियो। बलिन्द्र धारा आँसु बहाउँदै मनासघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो।

उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढङ्गा अर्थात् देवताको मूर्ती पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो। 

भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साँइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर सय रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो।

उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो – मैले गर्दा आज कसैको पेटमा अन्न त पर्‍यो।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक