Notice ( सूचना )
बिराट नेपाल
2016-06-01
प्यारा स्वदेश र विदेशमा बस्ने नेपाली दाजु भाइ दिदी बहिनी र बुवा आमाहरू ...
मुटु भरीको माया अनि आभारका पुष्प गुच्छाहरु ।
त्यो विनाशकारी भुईचालोले हामीलाई दर्फराउदै हाम्रा घरहरू भत्काएर हाम्रै आफन्तलाई टपक्क टिपेर लगेको पीडा त कहिले मेटिएला र ? तर पनि मन सम्हाल्नै पर्ने रहेछ ।
हो ! हामी एक्लैले पुरै देश बनाउन सक्दैनथ्यौ त्यसैले एउटा मात्रै बस्ती बनाउने अठोट गर्यौ, त्यो दृढ अठोटमा तपाईहरुले देश विदेशबाट दिल खोलेर सहयोग गर्नु भयो, त्यसैबाट हामी हौसियौ अनि फेरि अहिले गिरानचौरको ढलेको बस्तीलाई उठाउने संकल्प गरेका छौँ । देश दुखेको बेला एउटा नागरिक जिम्मेवार हुनैपर्छ भनेर हामीले प्रतिज्ञा गरिरहँदा हामी सँग बस्ती ठड्याउने पैसा थिएन केवल तपाईँहरूको माया थियो जो सधैँ रहिरहने छ, हामी गरिबको बस्ती उठाउन ज्यामी भएरै अहोरात्र खट्न तयार छौ तर तपाईहरु नै ती घरवार बिहीनहरुको जग हो, खम्बा हो र छानो हो । यहाँको माटोले तपाईँहरूको पसिना मागिरहेको छ ।
अहिले गिरानचौरमा बस्ती बसाउन हामी कम्मर कँसेर लागिरहेका छौ, हामीले हाम्री काखे छोरी छोडेर, परिवारबाट टाढा भएका छौ तर ढलेको बस्ती उठाउने पवित्र संकल्प लिएको बेला धेरै छोरा छोरीलाई ओत दिन पाउनु हाम्रो सबैभन्दा ठुलो दायित्व हो , यही नै ठुलो धर्म हो। यो दायित्व हामी एक्लैले पूरा गर्न सक्दैनौ त्यसैले हामी चाहन्छौ हरेक जिम्मेवार नागरिकको तर्फबाट एक एक ईट सहयोग प्राप्त होस र भोलि ठडिएको गिरानचौरमा सबैको मेहनत र सद्भावका सुगन्ध लिन पाउँदा कति आनन्द हुन्छ होला है !
बर्खा लागिसक्ने बेला भो, यो बर्खामा पनि हाम्रा धेरै छोरा छोरीहरू रुझ्ने छन्, उनीहरूको आँखा त तेह्र महिना देखि रुझिरहेकै छन्, ती आँखा मध्ये केही आँखाहरुलाई यो दसैमा हँसाउनु छ, यस्तो पुनित काम गर्ने बेला तपाईँ हाम्रो सद्भाव भएन भने के को मानवता, तपाईँ हामी के को जिम्मेवार नागरिक ! हैन र ? त्यसैले हामी बरु अझै धेरै ईट र ढुङ्गाहरू बोक्न तयार छौ तर हामीलाई तपाईँहरूको अझ होस्टेमा हैँसे जरुरी छ, अझ आर्थिक, भौतिक र नैतिक सहयोगको जरुरी छ । सोच्नुस त ! एक रात मात्रै खुला आकाशमुनि बस्दा त कति पीडा हुन्छ भने कति धेरै मान्छेहरू तेह्र महिना देखि बाहिरै छन् ! यस्तो बेला केही गर्न नसके हाम्रो जीवन सार्थक कसरी होला ?
राजनीति नमुना हुन नसकिरहेको बेला हामी सचेत नागरिक पनि नमुना हुन सकेनौं भने देश कहिल्यै बन्ने छैन, हाम्रा छोरा छोरीले पनि भोलि हामीलाई धिक्कार्ने छन्, दुत्कार्ने छन् । त्यसैले आफूले सकेको दायित्व पूरा गरौँ भन्ने हाम्रो अनुरोध हो ।
हामी तपाईहरुलाई विश्वास दिलाउन चाहन्छौ: तपाईँहरूको पसिनाले कमाएर गरेको एक एक रुपैयाँ सहयोगको हामीले दुरुपयोग गर्ने छैनौँ, तपाईहरुले माया र सद्भावले दिएका एक एक ईटमा हामीले खुसीका रङ्ग भर्ने छौँ, तपाईहरुकै पसिनाले मुछेर बनाएका भित्ताहरु अब कुनै विपत्तिमा पनि ढल्न नसक्ने गरी बनाउने छौ । यसै गरी तपाईँ हामी मिलेर बनाएका नमुना बस्तीहरुले भोलि सरकारलाई प्रोत्साहित गर्ने छन्, तपाईँ हामी जस्तै मनकारी मान्छेहरूलाई प्रोत्साहित गर्ने छ अनि एक दिन यस्तै धेरै बस्ती बन्नेछन् त्यसबेला हामी सबैको ओँठमा एकै चोटि खुसीको फोहरा छुट्दा कति आनन्द आउला सोच्नुस त !
हो ! परदेश हुँदा झन् धेरै दुख्दो रहेछ देश, हामी आफैले यो कुरा भोग्यौँ । सम्पन्न देशका नागरिक भएको भए हामी परदेशिनु किन पर्थ्यो र ? आफ्नो परिवारबाट छुट्टिनु जत्तिको ठुलो पीडा अरू केही हुन सक्दैन । अर्काको देशमा बसेर पनि पल पल देशकै माया र चिन्ता गरी अहिलेसम्म सहयोग गर्ने मनकारी नेपालीहरू र स्वदेशको गरिबीमा आफ्नो गास कटाएर पनि सहयोग गरिरहनु भएका सबै परोपकारी मनहरुलाई ती बेघर भएका गरीबहरुको लाखौँ लाख आशीर्वाद पुगिरहोस , हाम्रो कामना छ तपाईँ सबै हितकारी मनहरुलाई कहिल्यै रुन नपरोस, दिएर खान पुगोस् ।
अन्त्यमा ,
अहिले सम्म हाम्रो गिरानचौर एकीकृत बस्ती निर्माण महाअभियानमा एक करोड रुपैयाँ एकतिस लाख भन्दा बढी रकम उठिसकेको छ तर अझै झन्डै तीन करोड रुपैयाँ उठ्नुपर्ने छ , यसको लागि एउटा त के तपाईँले गरेको आधा ईटको सहयोगले मात्र पनि गिरानचौरमा तपाईँको परोपकारी मनको प्रतिनिधित्व हुनेछ । बर्षात अघि सबै सामग्रीको भन्डार गर्न सकिए हाम्रो दसैँ अघि निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुने थियो,ठुलो योजना भएकाले सहयोग पर्याप्त नहुँदा अप्ठेरो परिरहेको छ, त्यसैले सबै सबै देश विदेशमा बस्ने नेपाली मनहरुलाई दिल खोली सहयोग गर्न हामी हृदय देखि नै अनुरोध गर्दछौँ । सक्नेले धन , नसक्नेले श्रम र त्यो पनि नसक्नेले हामीलाई सहानुभूति गरेर यो अपिल शेयर मात्रै गरेपनि हामीलाई लक्ष्य चुम्न मदत गर्नेछ । हितकारी मनकारी तपाईहरु सबैको जय होस । आउनुहोस राष्ट्र पुनर्निर्माणमा जुटौँ ।
(पवित्र समाजसेवा गरिरहेका धुर्मुस सुन्तली तपाईँ हाम्रो बाटो हेरेर यस्तै सहयोगको याचना गरिरहेका होलान् , हामी पनि केही गरौँ न है ।
- सरगम भट्टराई
Post Comments Using Facebook
Your Comments