एएफपी, लन्डन ।
जर्मन विन्गर लेरोय सेनले मंगलबार म्यानचेस्टर सिटीसँग पाँच वर्षको अनुबन्ध गरेका छन्। उनको यो अनुबन्धको इंग्लिस प्रिमियर लिग क्लब र उनको पुरानो बुंडेसलिगा क्लब साल्का ०४ दुवैले पुष्टि गरेका छन्। सिटीले टविट गर्दै सेनले अनुबन्धको हस्ताक्षर गरिरहेको तस्बिर हालेको छ।
अनुबन्ध चार करोड तीन लाख डलर बराबर रहेको अनुमान छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा खेल्ने उद्देश्यले आफू नयाँ क्लबमा आएको २० वर्षीय सेनले बताएका छन्। ‘सिटी आउनुको प्रमुख कारण ग्वार्डिओला हुन्। उनले मलाई यहाँ आउन विश्वास दिलाए र मेरो खेल जीवनमा सहयोग गर्ने पनि बताए,’ सेनले भनेका छन्।
उनले थपे, ‘मलाई विश्वास छ, उनको प्रशिक्षणमा मैले धेरै सिक्नेछु। यसले मेरो खेल जीवन अझ माथि पुग्ने विश्वास छ। मेरो विचारमा उनी राम्रा खेलाडीलाई पूर्ण खेलाडी बन्न सहयोग गर्न सक्छन्।’ ग्वार्डिओलाले टिम सम्हालेयता सेनसँगै नोलिटो, इमाये गुनडोगन र ओलेकसान्डर जिनचेन्को सिटीमा आइसकेका छन् ।