बिराट नेपाल
2015-10-12
गैर आवासीय नेपालीहरूको संस्था एन आर एनले आफ्नो स्थापना कालदेखि उठाएको एक पटकको नेपाली संघैको नेपाली वा दोहोरो नागरिकताको माग केही हदसम्म पूरा भएको छ । आगामी दिनमा बाँकी कार्य सम्पन्न गर्नको लागि संस्थागत भावनाबोकेर आएका व्यक्तिलाई हामीले प्रश्रय दिनु पर्दछ । विश्वमा सार्क बाहिर ३० लाख भन्दा बढी नेपाली वा एनआरएन छन् । ३० लाख एन आर एन मध्ये संस्थामा हालसम्म एक लाख हाराहारीमा सदस्य बनाउन सकिएको छ । हामीले ३% मात्र सदस्य बनाउन सफल भएको अवस्थामा जेठो र दीर्घकालीन योजना बनाएर संस्थामा सबैको आकर्षण बढाउनु र गोलबन्द गर्न सक्नु वर्तमान समयको आवश्यकता र चुनौतीसमेत हो ।
वर्तमानको विश्लेषण गर्ने हो भने एन आर एनमा स्वःस्फूर्त रूपमा सदस्य बन्ने भन्दा नेतृत्व चयनको समयमा सदस्य बन्ने, बनाउने परिपाटी रहिआएको छ । यो रोगबाट एनसिसि मात्र हैन आईसिसि पनि ग्रस्त छ, जसको आंकलन चुनावी अधिवेशनको समयमा प्रतिनिधि जाने, छानिने र साधारण अधिवेशनमा देखिने उत्सुकताबाट समेत सजिलै अनुमान लगाउन सकिन्छ । केहीको अपवादलाई छाड्ने हो भने एनआरएन एउटा ठोस नियमबाट भन्दा पनि नेतृत्व लिने र आफ्नो स्थान देखाउने थलोको रूपमा विकाश हुँदै जान थालेको छ । केही वर्ष अगाडीसम्म एनआरएनको नाम नलिनेहरु एकाएक यस्का मसिहा बन्न पुगी सकेकाछन । पद आफ्नो वरिपरि घुम्दा एनआरएन जप्ने र पद नहुँदा नामै नलिने आत्म केन्द्रित प्रवृतिलाई समयमै निरुत्साहित पार्नु पनि जरुरी भईसकेकोछ । नेपालमा लामो समयदेखि आलोचना हुँदै आएको एनआरएन भनेका गफ गर्ने मात्र हुन् कुनै लगानी लिगेर आउने हैनन् भन्ने रहेको छ । हुन पनि एनआरएनका एनसिसिहरु र भर्खरै हुन लागेको आईसिसि प्रतिस्पर्धामा रहनुहुने धेरैले नेपालमा लगानी गर्ने भनेर घोषणा पत्रमा राखेको देखिन्छ ।
तर, विडम्बना नै भन्नुपर्छ नेतृत्व पंक्तिमा रहनुहुनेहरुको एनआरएनको पहलमा सुरु भएका योजनाहरुमा उल्लेख्य लगानी भएको देखिँदैन । नेतृत्वमा आउनु भन्दा अगाडी यसमा कसैले चासो देखाएनन भने वर्तमानमा समेत कसैले त्यस तर्फ खासै रुचि देखाएको देखिँदैन । सुरुवात आफूबाट गर्न सक्नु पर्दछ, जसको नतिजा समेत राम्रो पाउन सकिन्छ । विश्वभर तीस लाख नेपाली भएको अवस्थामा गतिलो योजना बनाएर हरेकको एक हजार मात्र सेयर बनाउन सक्ने हो भने पनि ठुलो योजना बनाउन सकिन्छ । सामूहिक लगानीका केही साना प्रयास भएता पनि कसैको पनि ध्यान उत्पादनमुलक क्षेत्रमा ध्यान गएको वा दिएको देखिँदैन ।
लगानीकै सन्दर्भमा एनआरएनले साँच्चीकै देश विकासमा टेवा पुरयाउने हो भने कृषि, पर्यटन, हाईड्रोपावर लगायत उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्ने हो । अहिले सम्मको अवस्था हेर्दा सबैको ध्यान दूरसञ्चार, बैकिङ्ग जस्ता क्षेत्रमा बढी ध्यान गएको र लगानी लगाएको देखिन्छ । यसबाट के प्रस्ट देखिन्छ भने आफ्नो पहुँच बनाएर देशलाई दीर्घकालीन रूपमा फाइदा हुने भन्दा पनि सहर केन्द्रित तथा लगानीको प्रतिफल सजिलै प्राप्त गर्ने क्षेत्रमा लगानी गर्न खोजिएको देखिन्छ । बैंकिंग र सञ्चार क्षेत्र भनेका देशमा खासै रोजगारी सिर्जना नहुने तर नेपालीकै पैसामा आफ्ना कार्यहरू गर्न सकिने व्यवसाय हुन् । उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा देशमा रोजगारीको अवस्था सिर्जना हुनुका साथै देशमा हुने आयात समेत घट्न जाने हुन्छ ।
भारत, चिन लगायतका देशमा प्रवासी भारतीय तथा चिनियाहरुको उत्पादनमुलक क्षेत्रमा धेरै लागानी भएको बताईन्छ जसले गर्दा ती देशको आर्थिक उन्नतिमा समेत प्रवासीहरुको ठुलो हात रहेको बताईन्छ । नेपाल सरकारले होस् वा नेपालमा रहेका नागरिकहरूले समेत चाहेको र परिकल्पना गरेको एनआरएन भनेको ठुला कुरा भन्दा देशलाई दीर्घकालीनरूपमा फाइदा पुर्याउन सक्ने योजना सहितको एनआरएन हो ।
केही समय पहिले एन आर एन अमेरिकाले संविधान प्रद्धत हक प्राप्त गर्नको लागि एनआरएन अमेरिकाको सिफारिस लिनुपर्ने माग राखेको छ । संस्थाको मात्र हितलाई ध्यान दिँदा यो एकदम जायज छ, किनकि नेपालमा यातायात लगायत चेम्बरमा समेत सिफारिस गर्दा दस्तुर लिने र सदस्यता बन्ने कार्य गराउँदा संस्थामा राम्रो आर्थिक स्रोत जम्मा गर्न सकिनेछ भने राम्रो सिन्डिकेट समेत सुरुवात गर्न सकिनेछ । तर सामुदायिक भावनाले सोच्ने हो भने अमेरिकामा रहेका पाँचलाख नेपालीमा दश हजार सदस्य भएको संस्थाले यस्तो माग राख्दा ९८% बाट वा २% भित्रबाट समेत विरोध आई भोलिका दिनमा यसमा आकर्षण भन्दा विकर्षण हुन् सक्ने अवस्था रहन सक्दछ ।
एनआरएन आईसिसि, एनसिसि, राज्य च्याफ्टरहरु सबैले एक देखि अर्काको मातहतमा चल्दै संस्थागत विकास र आफ्नो स्थान अनुसारको काम गर्न पहल समेत गर्नुपर्दछ । एनआरएन भित्रका हरेक कमिटीले यो काम मैले पहिला गरिहालेमा मेरो नाम आईहाल्छ भन्ने मानसिकताबाट मुक्त भएर सामुदायिक भावनाबाट अभिप्रेरित भई काम गर्ने परिपाटीको विकास गर्नु आज सबै एनआरएनको दायित्व वा जिम्मेवारी भित्र राख्नु पर्दछ । हरेक देशका एनआरएन एनसिसिहरु समान हुन् चाहे विश्वको जुन भूगोलका हुन, सामर्थ्यता र भौगोलिक समावेशिताको आधारमा नेतृत्व लिने परिपाटी विकाश गर्नु पर्दछ । भौगोलिक हिसाबले प्रवासी नेपालीहरूका माग र आवश्यकता फरक छन् यसर्थ नेतृत्वमा समेत समान रूपमा युरोप, अमेरिका, मध्यपूर्व, अस्ट्रेलिया, उत्तर पूर्वी एसिया, पूर्वी एसिया, अफ्रिका लगायत सबै भेगलाई नेतृत्वमा ल्याउनु पर्दछ । सबै व्यक्ति विकसित देशमा बस्ने प्रवासी नेपालीमात्र सक्षम छन् भनेर मूल नेतृत्वमा आउने गर्नु हुँदैन । जसको प्रतिनिधित्व हुन्छ उसको मुद्दा नै प्रमुख रूपमा उठ्ने हुँदा भोलिका दिनमा सम्पूर्ण प्रवासी नेपालीहरूको साझा थलोको रूपमा यसलाई विकाश गरिनु पर्दछ र नेतृत्वमा समेत सबै भेगलाई आउन सक्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
नेपालमा महाभूकम्प जाँदा गरेको कार्य, संविधानमा दोहोरो नागरिकताको लागि गरिएको कार्य सह्रानिय छ । नेपालमा संविधान बनेर स्थापना काल देखिको एउटा माग पूरा भएको सन्दर्भमा एनआरएनले एउटा ठोस माग र योजनासहित सबै भूगोललाई समान रूपमा समेट्दै लैजानु पर्ने आसन्न अधिवेशनको जिम्मेवारी भित्र पर्न जाने देखिन्छ ।
Post Comments Using Facebook
Your Comments