Similar Articles

संस्मरण

दसैँ र देश--भूपेन्द्र थापा

बिराट नेपाल

तीन वर्षपछि देश फिरेको । एयरपोर्टबाट ट्याक्सीमा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मुलद्धारबाट निस्कनेवित्तिकै देखिएका फाट्टफुट्ट  सवारी साधन अनि धुलो, सडक वारीपारीको फोहोर, ढिस्का देख्दा देश अझै उस्तै रहेको अनुभूति दिलायो । ट्याक्सी चालक फोनमा तेल मिलाइदिन अनुरोध गर्दै थिए । उताबाट पेट्रोल लिटरको चारसय पर्ने जवाफ आइरहेको थियो । फोनपश्चात चालक भन्दै थिए—‘कसरी गरिखानु हजुर अव गाडी थन्क्याउनु पर्छ’ ।

विमानस्थलदेखि कोटेश्वरसम्मको भाडा १५ सय भनेपछी मैले एकपटक न्यु योर्क सम्झिए । नेपालभन्दा प्रतिब्यक्ति आय आकाश पाताल फरक रहेको अमेरिकाको न्यूयोर्ककोभन्दा झण्डै बढी थियो त्यो फेयर । बिहान ६ बजे विमानस्थलमा उत्रिएर कोटेश्वरस्थित निवासमा गएर चिया खानापश्चात दिउसो पुगियो एनआरएनएको विश्व सम्मेलनस्थल आर्मी अफिसरर्स क्लब भद्रकालीमा । जतिवेला  निर्वाचन परिणाम घोषणा भइसकेर अन्य विभिन्न शीर्षकका गोष्ठीहरु हुँदै थिए । तत्पश्चात लागियो महाबौद्ध÷असनतिर । जहिल्यै पनि नेपाल आउदा मेरो पहिलो प्राथमिकतामा यो क्षेत्र र पशुपति मन्दिर पर्छन । सकेसम्म छिटो पुगिहाल्न मन लाग्छ । दसैँ किनमेल गर्नेको भिड हेर्न लायक थियो । धुलोले हिडिसक्नु छैन तै पनि मास्क लगाएरै भएपनि मानिसहरू खुसीसाथ किनमेलमा अभ्यस्त थिए । महाबौद्ध क्षेत्रका होलसेल व्यापारीहरु पनि व्यस्तै देखिन्थे । तर पहिलो जस्तो व्यापार नरहेको उनीहरूको गुनासो थियो । खासगरी नेपालीहरूको क्रयक्षमताअनुरुपका विविध सामान आउने तातोपानी नाका महिनौदेखी बन्द थियो । अनि कहाँबाट आओस सामान र बेचुन । असनको भिड पनि हेर्न लायक थियो । खुट्टा राख्ने ठाउँ थिएन । मलाई एउटा टोपी किन्नु थियो । गजपको ढाका टोपी तर पहिला मास्क किने र मुख छोपी हाले । नत्र घाँटी दुख्न थालिसकेको थियो । त्यत्रो भूकम्पपश्चात पनि  जिउका तिउ रहेका असन क्षत्रका पाटी पौवा, सत्तल र थोत्रा घरहरू देख्दा लाग्यो त्यहाँ भूकम्प आएकै थिएन । 

भोलिपल्ट बिहानै पुगियो पशुपतिनाथ । पूर्वक्षत्रतिर गइयो । मरेका लासहरु पुर्ववत जलिरह्ेकै थिए । दर्शन गर्न आएकाहरु सकेको आवाज निकालेर  भोलेऽऽ भन्दै कराउदै हिडिरहेका देखिन्थे । निधारमा टिका र कान अनि टाउकामा फुल सिउरेका दर्शनार्थी यत्रतत्र देख्दा मन धार्मिक भइरहेको थियो । जुन मलाई असाध्यै मन पर्छ । भूकम्पमा जोगिएका महत्वपुर्ण सम्पदामध्येमा पशुपति मन्दिर पनि एक थियो । त्यसैले त प्रवेशद्धार अघिल्तिर जुत्ता÷चप्पल राख्नेको भिड अनि मन्दिरमा दर्शन गर्नेको लाइन देख्दा लाग्यो भूकम्पले धेरैका घर अनि थुप्रै सम्पदा ढलेपनि भगवानप्रतिको आस्था किञ्चित पनि ढलेको छैन । दर्शन गरेर निस्कदै गर्दा बाटोमा अलिक अपाङ्गजस्तो लाग्ने एक बालकले पैसा मागे । दिन भनेर गोजिमा हातमात्रै के राखेको थिए । अरू दश÷पन्ध्र जना मधेसी अनुहारका बालबालिकाले ‘दाइ मलाइ दिनोस, दाइ मलाइ दिनोस’ भन्दै घेरा हालिहाले । अनि माग्नका लागी बसेकाहरुको लाइनमा हेरे त्यहाँ तिनै बालबालिकाका अभिभावक थिए । 

लाग्यो मधेसले अरू त अरू पशुपतिनाथमा पनि राम्रै अधिकार जमाइसकेछ । त्यसो त दर्शनार्थीको रूपमा पनि मैले थुप्रै मधेसी अनुहारहरु देखेको थिए । यसअघि त्यति बाक्लो सङ्ख्या कमै देखेको थिए । सायद नयाँ राजनीतिक परिस्थितिसंगै हरेक क्षेत्र सँगसँगै धर्मकर्म र धार्मिक क्षेत्रमा पनि मधेसको उपस्थिति बाक्लिदो छ । खुसी नै लाग्यो मधेसको नाममा राजनीति गर्ने केही स्वार्थी नेताहरुका कारण चलिरहेको बेफ्वाकको आन्दोलनका कारण तराई र पहाडी समुदायविचमा अविश्वास झनै झाङ्गिदो छ । तर कम्तीमा भगवानप्रतिको आस्था त एउटै छ । जुन एउटा माध्यम हुन सक्छ फाटेका ती मनहरू जोडनका लागी ।  फर्कदै गर्दा सडकमा एउटा गाडीको पछाडि लेखिएको थियो ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’

बेलुकीपख हानिए सोल्टी होटल । जहाँ  गैर आवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम एवं प्रधानमन्त्रीको उपस्थितिमा समापन समारोह हुँदै थियो । प्रधानमन्त्री केपी ओलीको बोल्ने पालो आयो । उनी बोल्दै मात्र के थिए फुत्त टुप्लुकिए प्रधानमन्त्री पदका उनकै पुर्वप्रतिष्पर्धी  काग्रेस सभापति सुशील कोइराला । अनि ओलीले भने —‘यसैबिच भर्खरैमात्र पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला पनि हामीमाझ उपस्थित हुनु भएको छ । माइक मेरो हातमा छ म नै उहाँलाई आयोजकका तर्फबाट अतिथिको आसनग्रहण गरिदिनुहुन अनुरोध गर्दछु’। त्यसपश्चात हल तालीले गुञ्जायमान भयो । अनि थप भाषण गर्दै उनले थपे—‘अहिलेको संविधान अतुलनिय छ । समावेशी छ । लगभग सबैको माग सम्बोधन गरिएको छ । 

तपाइहरूको माग पनि जस्ताको तस्तै समेटिएको छ की एक पटकको नेपाली सधैंको नेपाली । हलबाट हैन÷छैन भन्ने केही स्वरहरू आए । अनि चतुर ओलीले सम्म्याइहाले । ‘सयमा सय नहुन सक्छ । मान्छे पूर्ण सन्तुष्ट कहिल्यै हुँदैन । यदि भयो भने त्यसले थप प्रगति गर्न सक्दैन ।’ उनले आफ्नै शैलीमा थप भाषण गर्दै थिए ‘सहमति र सहकार्यका लागी काँग्रेसलाई हात्ती, घोडा जे जे चाहिए पनि लिएर सरकारमा सहभागी हुन आग्रह गर्दछु’ । 

जतिवेला मेरो मथिङ्गलमा केही कुराहरू घुमिरहेका थिएकी त्यत्रो भूकम्पले थला पारेको छ त्यसमाथि भएन भारतीय नाकाबन्दीले बजारमा अभावै अभाव छ । यात्रा गर्न पर्याप्त सवारी साधन छैनन् । पकाएर खान घरमा इन्धन छैन । अझ कतिको न बासै छैन । र पनि सबै हाँसेकै छन् । खुसी छन् । जे छ त्यसमा चित्त बुझाएका छन् र त बिहान उठनेवित्तिकै आफ्नो कर्ममा यथावत तल्लिन छन् । हास्न विर्सिएका छैनन् । त्यसमा पनि भारतले यत्रो दुःख दिदा पनि अलिकति पनि हच्किएका छैनन् । एडजस्ट गरेकै छन् । पछिल्लो समयमा केही राष्ट्रवादी अडान देखाएका र भाषमा हसाउन जान्ने ओलीलाई नै खुसीसाथ नेपालीले प्रधानमन्त्रीको रूपमा स्वीकार गरेका छन् । तर यहाँनेर ओलीजीले हँसाउदा हसाउदै पनि काम भने गम्भीर रूपमा गर्न जरुरी छ । हैन भने त्यो हास्यरस पनि धेरै टिक्नेवाला छैन । ओलीजीको जँुगा वा उखानटुक्काका कारणले उनी पपुलर  प्रधानमन्त्री  पक्कै पनि भएका हैनन । राजनीतिक घटनाक्रमको पछिल्लो चरणमा उनले देशको पक्षमा राखेको अडान नै एकमात्र कारण हो । तर अव उनमा त्यसलाई जोगाइराख्ने चुनौती त छ नै । साथसाथै भारतीय नाकावन्दीको विकल्प दिएर नेपाली जनजीवन सामन्य बनाउने अनि भूकम्पबाट क्षतविक्षत भएका घरबाँस बनाइदिने र जनताको ओठमा सक्कली मुस्कान लेराइदिने । अनिमात्रै उनको उखानमा जनता मनै देखीको उच्छवास हाँसो हास्न सक्छन् हैन भने उनले जतिसुकै हाँसउठने उखान भनेपनि रिस उठने हुनेछ । उनले हेक्का राख्नु जरुरी छ । 

मलाई विश्वास छ उनलाई यस कुराको राम्रो चेतना छ । तर  उनका पछिल्ला क्रियाकलापले उनलाई पनि सुस्त देखिन थालिसकेको छ । करिब दुई हप्ता वितिसकेको छ । तर अभाव जिउका तिउ छ । झन त्यसमा मान्छे पिच्छे उपप्रधानमन्त्री र जोपायो त्यसलाई मन्त्री नियुक्त गरेर आलोचनाको पात्र हुन थालिसकेका छन् । मलाई आशा छ यी तमाम कुराका बाबजुद उनले बाँकी मुख्य कामहरू तमाम गर्ने छन् । यदि यसपटक ओली पनि असफल भएभने नेपालीसामु अव कुनै त्यस्ता नेता बाँकी छैनन् जसबाट केही हुन्छकी भनेर आस गर्न सकियोस । त्यसैले हाललाई तुरुन्त ओलीको आलोचना गर्नूभन्दा पनि उनलाई घच्घच्याउनचाही जरुरी छ । 

भोलिपल्ट सवेरै लागियो गृहनगर दोलखा÷चरिकोटतर्फ । भक्तपुरहुदै अघि बढदै गर्दा सडकको दाँया बाँया रहेको पम्पमा तेलभर्नका लागी पालो कुरेर बसेका करिब तीन किलोमिटर लामो लाइन देख्दा फेरी पनि कुटुक्क मन खायो  ‘साला भारत’ ।
धुलिखेलबाट तलतिर देखिएका जस्ताका टहरा हुन वा खाडिचौरबाट उकालो लाग्दै गर्दा सिन्धुपाल्चोकका विभिन्न गाउँ हुन या त  मुडेबाट ओरालो झर्दै गर्दा देखिएका कटेजहरु, सबै उत्तिकै टल्किएका थिए । जस्तामात्रै हैन बाटोबाट देखिएका त्यहाँका मानिसका मधुर मुस्कानसंगै दाँत पनि उत्तिकै टल्किएका थिए । आफ्नो इलम गरिराखेकै छन् । गाडीतर्फ हेरेर मुस्कान छरेकै छन् । अजिव लाग्यो अनि गर्व पनि । आफ्नो नेपाली जाती देख्दा । प्रवासमा रहनेहरुले त समाचार हेरेर मनै दुखाउने मात्रै त हो । तर यहाँ त स्वयम् भोगेका छन् त्यो पिडा र कष्ट र पनि ओठमा त्यो मधुर मुस्कान हराएको छैन । हास्न विर्सिएका छैनन् । अजिव लाग्यो केही वर्ष मात्रै बाहिरिएर फर्किएको म स्वंय नेपालीलाई त । सोंचे झन विदेशीहरुलाई कति अजिव लाग्दो हो यस्तो देख्दा यत्रो पिडा छ । तरै पनि अनुहारमा कहिकतै देखिदैन । पहिलेजस्तो छतभरी राखेर हिडेका यात्रुबाहक बसहरु साह्रै नै फाट्टफुट्ट मात्रै देखियो । तरैपनि एउटा गाडीमा लेखिएको थियो ‘बलदेउ भिमसेन’ ।

थाहा छैन देशले भोग्ने हरेक दुःखद घटनाअघि पसिना आएर चर्चामा आउने गरेको दोलखामा रहेका भिमसेनले कति बल दिन्छन । तर एउटा विश्वासचाही दह्रैसंग गढ्यो कि नेपालीहरूलाई केही न केही अजिव किसिमको दैविक वलचाहि प्राप्त छ र त सदैव हास्न सकेका छन् । गरिब सही तर खुसी छन् । हरेक अप्ठ्याराहरुलाई सहजै स्वीकारेका छन् । घरपुग्दै गर्दा बजारमा कतै बजिरहेको थियो दोल्खाली लोक गायक कुमार बस्नेतको यो गीत 

 ‘भिमेश्वरको मेला, भेट भएको बेला, 
लाइदेउ माया ए साइली डर मान्नु पर्दैन ।’

सबैको जय होस !
सबैमा शुभ दसैँ तथा तिहारको शुभकामना ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक