Similar Articles

संस्मरण

म आफ्नो रचना पोष्ट गर्नको लागी चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें । --आचार्य प्रभा

बिराट नेपाल

लेख/संस्मरण

यस्तो लाग्यो लेख्नै पर्दा सधैं भावनामा बहेर काल्पनिक कुराहरू मात्र कति लेख्ने ? लेख्नु नै छ भने आफ्नै कथा लेखौं जो रचनामा नौलो स्वाद पनि हुन्छ । त्यसैले मैले आफ्नै भोगाईका केहि दुखद क्षणहरू यहाँहरूलाई बाँड्ने जमर्को गरें । आखिर कथा/ब्यथा सबैका आ-आफ्नै हुन्छन् पोख्नु नपोख्नु आफ्नै ईच्छा हो। मैले भने हिम्मत गरें आफ्ना केहि दुखद पलका कथाहरू बाँड्ने । पढेर मात्र यस्को मर्मभित्र पस्न सक्नु हुन्छ । त्यसैले समयले साथ दिएमा पढेर नै प्रतिक्रिया पाए म धन्य बन्नेथिएँ ।

"म आफ्नो लेख/रचना पोष्ट गर्नकोलागी त्यो समयमा चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें । "
हर प्राणीको जीवनमा आ-आफ्नै प्रकारका कथा ब्यथा हुन्छन् ति कथा,ब्यथाहरु मान्छे मात्रले पोख्न सक्छन् तर चरा चुरुङी पशुहरुले भने भोग्छन् मात्र पोख्न सक्दैनन् । हुन त औसत मान्छेहरुमा पनि त्यो भाव पोख्ने आधार केवल बोलीमा हुन्छ भने कोहिमा मात्र लेखेर आफ्नो भाव ब्यक्त गर्ने प्रतिभा हुन्छ । यसै सन्धर्भमा मैले पनी कहिले कँहि आफ्नो कथा, ब्यथा भावनाहरु कलमी श्रोतबाट पोख्ने जमर्को गर्ने गरेकीछु। यो मेरो प्रयास हो र यो प्रयास अनवरत रूपमा रहिरहनेछ ।

अँ....मान्छेका जीवन नै बिगतबाट शुरु हुन्छ त्यसैले मान्छेको बिगतका कथाहरु सप्तरंगी इेन्द्रेणी झैँ हुन्छन् जहाँ धेरै रंगहरुको समिश्रण हुन्छ । रातो,हरियो,निलो आदी आदी । त्यस्तै मान्छेका बिगतका रंगहरु पनी कालो,सेतो,अँध्यारो हुन्छन् । जस्लाई मान्छेले कालो रंगलाई दु:ख र संघर्षको रूप दिन्छन् भने सेतो रंगलाई सुख र खुशीको उपमा दिन्छन् ।

यस्तै रंगहरुको समिश्रणलाई मैले पाएकी आधारमा ति रंगहरुको बखान गर्नु पर्दा मैले जानेसम्म मैले पाएकी रंगहरुमा ज्यादा त कालो रंगको अनुभव नै बढी मात्रामा भोगेको अनुभव छ । सानै उमेरमा आमा-बाबाको काखबाट बन्चित हुनुपरेको म शायद सुख अर्थात सेतो रंगको कंचन लहरमा कसरी पो लहराउँन सक्थेँ र ? भाग्यमा नै कालो रंगको टिको धसिएर आएपछी बाहिर पोँतेको रंगको के अर्थ नै रहन्छ र ? हो मेरो भागमा त्यही कालो रंगको आधिपत्य थियो ।
म सम्झन्छु ति क्षणहरु जस्ले मलाई धेरै आहत पुर्‍याएको थियो। म त्यही आहतमा राहतको खोजी गर्दै कहाँदेखी कहाँसम्म भौँतारिएकी थिएँ त्यो क्षण। ति धेरै कथाहरु मध्ये आज मलाई एउटा बिर्सन नसक्ने त्यो समयको याद आइेरहेको छ जुन मेरो जीवनमा म कहिले कँहि धेरैबेर घोत्लिएर सम्झने गर्छु । त्यो समय हो जतिबेला म शायद १३/१४ बर्षकी थिएँ । मेरो बाँच्ने तथा हुर्कने क्रममा त्यो समयमा मेरो खासै स्थापित स्थान थिएन । म कहिले दाजु भाउज्युसँग बस्दथें भने कहिले ठुलो दिदी,भेनासँग । ठुली दिदी हामी सबै भाइ,बहिनीहरुका निम्ती आमा भन्दा अझ महान हुनुहुन्थ्यो जस्ले टुहुरा भाइ,बहिनीहरुलाई आफ्नो खुशी,गाँस,बास सबै बाँड्नु भएको थियो । त्यस्तै ठुलो दाजुले पनि १६ बर्षको उमेरदेखी भाइ,बहिनीहरुलाई हुर्काउँने,पाल्ने जिम्मेवारी लिनु भएको थियो। शायद अबको जमनामा त्यस्ता महान दाजु,दिदी पाउँन शायदै अर्को जुनी लिनु पर्ला ।

अँ..... मैले आफ्नो त्यो बिगतको बारेमा केही लेख्ने सुरसार कस्दैथिएँ । शायद म १३ बर्षकी थिएँ । त्यस्तै परिस्थिती पर्‍यो म माथी अर्थात म र मेरा दुई दिदीहरुमाथी । हामी त्यो समय दाजु भाउज्युसँग बस्ने गर्दथ्यौं दमकमा । हामी अचानक दाजु भाउज्युको घरबाट बहिष्कृत भयौं अर्थात हामीलाई त्यहाँ स्थान भएन । हामी ३ जना दिदी,बहिनी अब कहाँ जाने? कहाँ बस्ने? भन्ने सल्लाहा हुन थाल्यो । त्यो समय त दाजु भाज्युको त्यस्तो ब्यवहारले हामी धेरै बिचलित बन्यौँ । धेरै चित्त दुख्यो । हामीलाई घरबाट निकाल्दा तर अहिले म सम्झन्छु । हर मान्छेको आ -आफ्नै जीवन हुन्छ । आफ्नै घर संसार हुन्छ । सबैलाई नै आफ्नो बेग्लै संसार होस् भन्ने लाग्दछ । शायद त्यो समयमा हाम्रो दाजु भाउज्युलाई पनि त त्यस्तो महसुश हुन स्वभाविक थियो नी । सधैं अर्काको बोझ बोकेर आफ्नो ब्यक्तिगत जीवनमा भारी बोक्न कस्ले चाहन्छ र ? उसो त दाजुले आफु वयष्क भएदेखी नाबालक भाइबहिनीहरुलाई पालेर आफ्नो जवानी र उमेर नै बिर्सिसक्नु भएको थियो । १६ बर्षको उमेर देखी माष्टरी पेशा गरेर हामीलाई त्यँहासम्म ल्याइेपुर्‍याउँनु भएको थियो । त्यसैले पनी अब आफ्नो बैवाहिक जीवनमा वहाँले अब आफ्नै जिन्दगीलाई अघी बढाउँने मनसाय गर्नु भयो शायद । त्यो मनासिब पनी थियो ।

अँ.... हामी तीनजना दिदी बहिनीले को कहाँ जाने? को कहाँ बस्ने? भन्ने निर्क्यौल गर्‍यौँ र हामी त्यस्को भोली पल्ट आ -आफुले रोजेको गन्तब्यमा लाग्यौँ ।
यहाँ मैले मेरोबारेमा मात्र लेख्ने अभिप्राय गरेकीले म आफ्नै मात्र कथालाइे उजागर गर्ने प्रयास गर्दैछु ।

म मेरी दिदीकै एकजना साथी जस्को नाम भन्न म असमर्थ छु, को'मा बस्न गएँ । जो त्यो समय गर्भवती थिइेँन् । उन्को बच्चा जन्मने समय भएको र मान्छेको खाँचो परेकोले पपनि मलाई साथ लिएको हुनुपर्छ तिन्ले र हो रहेछ पनी । ति दिदी त ठिकै थिइेन् उन्को श्रीमान जस्लाई म दाजु भन्दथें वहाँ भने असल र कोमल मनको नै हुनुहुन्थ्यो । म बसेको केही दिन पस्चात नै ति दिदीको बच्चा बिराटनगरको हस्पिटलमा जन्मियो । त्यो समय मेजर अप्रेसन गरेर बच्चा जन्मेकोले त्यो घट्नालाई डाक्टरहरुले निक्कै ठुलो सफलता मानेका थिए । यसरी अप्रेसन गरेकोले ति दिदी लग्भग ५/६ महिना नै थलिइेन् । अब सोँचौँ त्यो समय म कती खटिएँ हुँला र मेरो महत्व कती भयो होला ?


ति दिदी अलिक तङ्रिइेन् र यसो उसो हिंड्डुल गर्ने भएपछी उन्लाइे उन्को माइेती ईलाम लैजाने सल्लाहा भएछ र हामी इेलाम जाने भयौँ । मलाई अली अलि सम्झना छ। हामी सनिश्चरे सम्म जिपमा गयौं र खोइे कुन ठाउँबाट जंगलै जंगल भएर पैदल नै इेलाम लाग्यौँ । हिँडेको यस्तै १०/ ११ घण्टामा हामी सोक्तिम भन्ने ठाउँमा पुग्यौँ जहाँ उन्का सानीमा र सानो बुवा रहेछन् । त्यँहा बास बस्यौँ । भोली बिहानै त्यँहाबाट इेलाम लाग्ने भन्ने कुरा थियो रातिसम्म तर बिहान त इेलाम जान त उनिहरु मात्र पो तयार छन् । मलाई नलैजाने भएछन् त्यो दिन । अरुकुनै दिन लिन आउँने शर्तमा उनिहरु बाटो लागे । म भने किङ्कर्तब्यबिमूढ भएर निशब्द बनी बसेँ । मैले भन्न पनी त के भन्ने ? उनिहरुलाई कर पनी थिएन तर मानवताको नाताले भने उनिहरुले मलाई त्यो अपरिचित ठाउँमा छाड्न नपर्ने थियो ।
समय बहँदै गयो आफ्नै बेगमा । म त्यँहि सोक्तिमको चिया कमानमा हराउँदै गएँ ।म बसेको घरमा साना साना तीन छोराहरु थिए । म उनिहरुसँगै भुलिन थालेँ । सानैदेखी केटा केटी मन पराउँने स्वभाव भएकोले म उनिहरुसँगै रमाउँन थालेँ । उनिहरुलाई पढाउँने,लेखाउँने जिम्मेवारी थियो मेरो । उनिहरुले पनी मलाई आफ्नै दिदी जस्तै गर्न थाले । मानौं ति बालकहरुसँगको सामिप्यताले गर्दा म पनी उनिहरुकै परिवार जस्तै बन्न पुगेँ । शायद उमेरको हिसाबले होला र त्यो समयमा ऐले जस्तो चाँडै आफ्नो भविष्य र उदेश्य सोँच्ने बुद्धि नभएर होला,म पनी निस्चिन्त थिएँ त्यो समय । म कहाँ छु ?के गर्दैछु ? मेरो भविष्य के होला ?भन्ने रत्तिभर चिन्ता नलिइे म निस्चिन्तसँग त्यँहा बाँचीरहेकी थिएँ । अहिले सम्झिँदा मेरो ढुक्कपनसँग आफैलाइे डर लाग्छ ।

त्यो घरको सदस्य नै भएर म बसिरहेको पनी पल पल गर्दै बर्ष दिन पुगी सकेछ । मलाई त्यँहा एकप्रकारको राम्रो ब्यवहार नै थियो । उनिहरुका छोरी नभएकाले मलाई सो सरह नै ब्यवहार थियो । म काका,काकी भन्दथें । मलाई काकाले भने "छोरी"को सम्बोधनले नै बोलाउँनु हुन्थ्यो । मलाई पनी आफ्नै बाबु सरह लाग्दथ्यो । घरको काम काज सबै म नै गर्दथें । मलाई आफु त्यही घरको सदस्य झैँ महसुश हुन लागेको थियो र म कुनै पनी हिच्किचाहट बिना नै सबैको लुगा फाटा धुइदिन्थें ।

सोक्तिम पहाडी इेलाका भएकोले लुगा धुन भने बाटोमै एउटा धारा थियो । त्यँहि धारामा लुगाको कुम्लो लगेर लुगाहरु धुन्थें म । बाटोमै धारा पर्ने हुनाले बाटो हिँड्ने यात्रुहरुले सबै दृश्य देख्दथे । म प्रायजसो लुगा धुन जाँदा दमकका कती परिचित यात्रुहरु पनी ओहोरदोहोर गर्दथे । म उनिहरुबाट छलिन कहिले लुक्दथेँ । कहिले नदेखे झैँ अभिनय पनि गर्दथें, किनकी मलाई दमकका मान्छे हरु देख्दा नमीठो महसुश हुन्थ्यो । भनौँ मदेशबाट ईलाम जाने पैदल वा मोटर बाटो त्यँहिबाट पर्दथ्यो । यसरी म त्यो समय त्यो अल्पपरिचित ठाउँमा बिना कुनै लक्ष र जिजीबिषाहिन भएर बाँचीरहेकी थिएँ । बस मलाई एक मुठी खाएर जीवन धान्नसँग मात्र मत्लब थियो । अहिले सम्झँदा त्यो मुर्खपनसँग पनी आफैलाई हाँस उठ्छ । म त्यही समयदेखी नै यदाकदा लेख्ने गर्दथें । मेरा रचनाहरु फाट्ट फुट्ट काठमांडौका पत्रीकाहरुमा आउँने गर्दथें । दमक भइेन्जेलसम्म त रचनाहरु यसो उसो पोस्ट गर्ने पैसा हुन्थ्यो र पोस्ट गर्दथें तर जब म सोक्तिम पुगेँ मसँग पैसाको अभाव हुन थाल्यो । मैले चाहेर पनी रचनाहरु पोस्ट गर्न सक्दिन थिएँ । लेखन मोह र छापिने चाह त ज्युँदै थियो मभित्र । मैले कसै गरेर पनी त्यो मोह र चाहनालाई मार्न सकिन ।
मलाई त्यो गाउँका सबैले माया गर्थे । म पनी सबै सँग हेलमेल हुने गर्दथें । त्यँहा एक दुई जना युवाहरु थिए । जो मसँग मिल्दथे। उनिहरुलाई थाहा थियो कि म लेखन क्षेत्रमा रुची राख्छु भनेर । म त्यो समय अली अली चित्र पनी कोर्दथेँ । मैले त्यो ताका स्व.भु.पु रानी एैश्वर्यको पुरानो फोटो जुन फोटो "ब्ल्याक एण्ड व्हाइेट " हाल्फमा कपाल अग्लो बनाएर बिचमा माछाको क्लिप लगाएको थियो । त्यही फोटोको चित्र बनाउँने गर्दथें । चित्र बनाउँदा बनाउँदा बानी परेर होला पछीबाट त नहेरी नै छोटो समयमा नै बनाउँन थालें र त्यँहा आउँनेहरुलाइे जबर्जस्ती नै चारआनामा बेच्न थालेँ । उनिहरुले पनी रहर र मन पराएर मात्र होइन कर र मेरो हालतलाई आत्मसात गरेर पनी किन्न थाले । म स्पष्ट नै भन्दथें "मलाई "टिकट र खाम" किन्न पैसा चाहिएको छ भनेर । म रचनाहरु पोस्ट गर्छु अनी दमकका मेरा साथीहरुलाई पत्र पठाउँछु भनेर । "बालकपन नै भएर होला मलाई त्यसो भन्न शरम लाग्दैनथ्यो । अनी पैसा आउँने अर्को माध्यम थियो मेरो । ति "काका"अली अली रक्सी खाने गर्नु हुन्थ्यो र मलाई २ रु.दिएर सानो माने बोतल बोकाएर लुकाएर रक्सी किन्न पठाउँनु हुन्थ्यो गाउँमा । फिर्ता आएको पैसा "तिमी नै राख भनेर दिनु हुन्थ्यो अनी काकीलाई नभन्नु है" भन्नु हुन्थ्यो । म पनी "बार्‍हना" पैसा पाउँदा दंग पर्थेँ र चुप्चाप कुनातिर लाग्दथेँ । त्यसरी आएको पैसाबाट म आफ्नो गुनासो र दु:खका कुराहरु साथीहरुलाई पत्र मार्फत पोख्दथें र आफ्ना रचनाहरु पोस्ट गर्दथें ।

यस्तै गरेर म आफ्नो दिनचर्या काटिरहेकी थिएँ निस्चिन्तसँग । त्यो समय मलाई न'त भविष्यको चिन्ता नै थियो न'त घर संसारको। कहिले कँहि भने दिदी बहिनी र दाजु भाइको सम्झनाले पिरोल्थ्यो त्यतिबेला केही लेखेर म आफुलाई शान्त्वना दिने गर्दथें त्यसैले त्यही समयदेखी नै लेखन मेरो जिन्दगी,खुशी र आश्वसनको सहारा थियो । हो म निस्चिन्त थिएँ र त बाँच्न सफल भएँ । यदी मलाई अनेकौं कुराहरु र जीवनको,भविष्यको चिन्ताको छट्पटिले पिरोलेको भए शायद म पिर र चिन्ताले नै अस्ताइे सक्थेँ की ?

मान्छेले धेरै चिन्ता र पिर लिँदा पनि मान्छे सधैं हतास र दुखी हुन्छन् । भनिन्छ नि "चिन्ताले चितामा पुर्‍याउँछ" त्यसैले चिन्तित बनेर बाँच्दा पनी अस्वस्थ्य र सधैं निरस भईन्छ तर त्यसो भन्दैमा बिना चिन्ता निर्धक्कसँग "जस्तो पर्छ त्यस्तै टर्छ" भन्ने धारणा लिएर बस्नेहरुको पनी जीवन सुखी र सफल हुन्न । त्यस्ता बर्गहरु उदेश्यहिन र अस्तित्वहिन पनी बन्न सक्छन् । भविष्य र जीवनको केही चिन्ता त लिनै पर्छ जस्ले जीवनलाई कर्तब्यसिल र उज्यालो भविष्यतिर डोहोर्‍याउँन सक्छ तर यी दुवैभित्र मेरो निश्चिन्तपन (ढुक्कपन) भने परेन। मेरो निश्चिन्तपन त मेरो उमेर र बालापनको समयले हो वा म एक्लोपनको अन्योल्तामा डुबेर हो । यसैले म बाँचिरहेकी थिएँ आफ्नै एक्लो संसारमा । भोलिको दिन मेरोलागी अनभिज्ञा थियो शायद ।

त्यो घरमा म आफ्नै परिवार सरह बाँची रहेकी थिएँ । मलाई लाग्दथ्यो उनिहरुले मलाई आफ्नै सन्तान सरह नै ठानेका छन् र बाहिरी ब्यवहारमा त त्यस्तै थियो पनी । एक रात काका खै! कहाँबाट अली ढिला आए । म र ति भाइहरु सुत्ने कोठा भएर उनिहरुको कोठा पस्नु पर्दथ्यो । काकाले ढोका ढक्ढक्याएको थाहा पाएर मैले ढोका खोली दिएँ । काका भित्र पस्नासाथ मैले ति काकिको आवाज सुनेँ । "जा न तेरी स्वास्नी बाहिर छ त्यँहि सुत........"यो शब्द सुनेर म अवाक बनें । मलाई विश्वास पनी लागेन कि काकीले मलाई भनेकी हुन् भनेर। त्यो रात रातभरी सुत्न सकिन । मनमा अनेकौँ कुराहरु खेल्न थाले । बल्ल मलाई महसुश भयो । म त साँच्चै नै निरीह रहेछु । यिनीहरु त मेरालागी पराइे रहेछन् । मैले आफ्नो ठान्नु ब्यर्थ रहेछ । अब म कहाँ जाउँ?यस्तै यस्तै सोंच मनभरी भर्दै कतिबेला निदाएँ मलाई पत्तो नै भएन । भोली बिहानै म उठेँ सदा झैं चिया बनाएर सबैलाई दिएँ । ।मेरो मुहारमा सदा झैं उज्यालो किरण थिएन । मलाई पटक्क बोल्न मनै थिएन । मेरो उदासीपन देखेर काकाले मलाई सुटुक्क भन्नु भो । " छोरी हेरन तिम्री काकीको मन कती पापी छ । तिमीले सुन्यौं होला । हिजो राती के भनेकी त्यस्तो ? आफ्नी छोरी जस्तिलाई पनी त्यसो भन्न के मुख लागेको होला ? तिमीले चित्त नदुखाउ । तिमी मेरी छोरी समान हौ । नरिसाउ है ?"भनेर मलाई शान्त्वना दिनु भयो । मैले के जवाफ दिने र ? न त मसँग बोल्ने शब्द नै थियो । न त धम्की लगाएर बोल्ने बाटो नै थियो । म मौन बनें । बदलामा मेरा आँखाबाट तरर आसुँ मात्र चुहे । काका पनी निरस अनुहार लगाएर बाहिर निस्के ।

यस्तो पीडाबोध लिएर अघि बढेको जीवन शायद कम कष्टकर थिएन ता पनि आजको सुनौलो दिनको प्रतीक्षाकोलागी मैले सबै समस्या र दुखद पललाइ अंगाल्न स्वीकार गरें । आज त्यहि दुखद पलको समय नै मेरो थाकेको कुनै पनि पलकोलागी उर्जा बनेको छ । हो मान्छेले समस्या र दुखसंग डराउँन हुन्न । पुराना ति दिनहरु आज मेरोलागि अझ तागत बनेको छ र त अहिले पनि ममाथि समस्याको पहाड खसे पनि म बोक्न समर्थ बन्छु /हो यहि नै जीवनको सत्यता र सार हो भन्छु म ।

आचार्य प्रभा

Comments (1)

Jitu on

man chhune lekhai, sadharan nepali ko bhogai ho yo. Tapaiko thap lekh padna paiyos, lekhai nirantar urja dine madhyam banos.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक