Similar Articles

लेख रचना

जीवन बिमाको विषयमा दुईचार कुरा--गोविन्द गिरी प्रेरणा

बिराट नेपाल

आजकाल नेपाली समुदायमा जीवन बिमाको विषयमा प्रशस्त कुराकानी हुन थालेको छ । जीवन बिमाका एजेण्टहरुमा नेपालीहरूको सङ्ख्या केही वर्ष यता उल्लेख्य ढँगमा बढेको छ र जीवन बिमाको महत्त्व बुझेर जीवन बिमा किन्नेहरुको सङ्ख्या पनि बढेको छ । वाराक ओवामाले स्वास्थ्य बिमा अनिवार्य गरेपछि लगभग सबैले स्वास्थ्य बिमा किनेका छन् । कारको बिमा अनिवार्य छ, घरको बिमा अनिवार्य छ, यी बिमा त किन्नै पर्‍यो । तर जीवन बिमा अनिवार्य नभएकाले नेपाली समुदायमा यसप्रति चासो र आकर्षण थिएन । अरू आप्रवासी समुदायमा पनि त्यस्तै हो । तर मानिसको महत्त्व घर, कारभन्दा कम हो त ? पक्कै होइन । तर पनि जीवन बिमा प्राथमिकतामा परेको देखिँदैन ।

विगतका वर्षहरूमा नेपालीहरूको जनसङ्ख्या अमेरिकामा निकै बढेको छ । अनुमान गरिए अनुसार नेपालीहरू अमेरिकामा ३ लाख भन्दा बढी छन् । भुटानी नेपाली समुदायलाई पनि गणना गर्ने हो भने यो सङ्ख्या अझ वढ्छ । जनसंख्यावृद्धिसँगै नेपाली समुदायमा घटना दुर्घटना बढ्नु, मृत्युको सङ्ख्या बढ्नु पनि स्वाभाविक हो । कतिपय अवस्थामा मृत्यु वा दुर्घटनापछि उपचारका लागि वा काजकृयाका लागि अथवा मृतकको लास नेपाल लैजानका लागि तथा मृतकको परिवारका लागि आर्थिक सहायता नेपाली संघसंस्थाहरुवाट जुटाउने परोपकारी काम भएका छन् । यो हाम्रो समाजको सकारात्मक पक्ष हो । यसमा दुईमत छैन । तर हामी कतिन्जेल चन्दा दानवाट काम चलाउने परिपाटी थामिरहने ? अतः यसको विकल्प खोज्न जरुरी छ र त्यो विकल्प जीवन बिमा हुन सक्छ ।

हुन त हाम्रो समुदायका कतिपय नेपालीहरूले दाल भात जुटाउन धौ धौ छ के को जीवन बिमा किन्नु भनेर भन्ने गरेको पनि पाइन्छ । हो त्यो सत्य हो । तर कतिपय अवस्थामा साना तिना खर्चहरु कटौती गरेर पनि जीवन बिमाको प्रिमियमको जोहो गर्न सकिन्छ । एउटा साधारण उदाहरण हेरौं न, यौटा ४० वर्षको घरमूलीको १ लाखको स्थायी जीवन बिमाको लागि सरदर ९० डलर जति प्रिमियम आवश्यक हुन्छ । कहीँ कतै घरमूलीको असामयिक निधन भएको खण्डमा आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्न दिनको ३ डलर जोगाउन सकिँदैन होला त ? यौटा कफी, सोडा, वियर, अथवा सिग्रेट किन्ने पैसामध्यवाट दिनको ३ डलर जोगाउने हो भने परिवारको आर्थिक भविष्य सुरक्षित गर्न सकिन्छ । यो यौटा उदाहरण मात्र हो कसरी सानो वचतवाट परिवारको आर्थिक भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने ।

तर अमेरिकी बजारमा सयौँ सयौँ बिमा कम्पनीहरू छन्, कुन कम्पनीको बिमा किन्ने ? हजारौँ हजार बिमाका एजेण्टहरु छन् कोसँग किन्ने ? यो प्रश्न पनि छ ।

अमेरिकामा मूलतः २ प्रकारका जीवन बिमा छन्ः
१, टर्म इन्श्योरेन्स अथवा अस्थायी जीवन बिमा
२, होल लाइफ, युनिभर्सल लाइफ इन्श्योरेन्स अथवा स्थायी जीवन बिमा ।

यी दुई प्रकारका जीवन बिमा मध्ये कुन जीवन बिमा उपयुक्त हो भन्ने विषयको लामो र अन्तहीन विवाद सधैँ चल्ने गरेको छ । टर्म इन्श्योरेन्स मात्र बिक्री गर्ने एजेण्टले टर्म इन्श्योरेन्स मात्रै राम्रो हो भन्ने अथाह तर्कहरू पेस गर्दछन् भने होल लाईफ वा युनिभर्सल लाइफ मात्रै बेच्ने एजेण्टले होल लाईफ र युनिभर्सल लाइफको पक्षमा तर्क दिन्छन् । तर ठिक कुन हो भन्ने कुरा बिमा किन्ने व्यक्तिको लागि यौटा सोचनिय कुरा हुन जान्छ । अतः जीवन बिमा वेच्नुभन्दा जीवन बिमाको विषयमा जानकारी दिएर शिक्षित बनाउनु महत्त्वपूर्ण काम हो । शिक्षा दिएपछि कुन ठिक हो उनीहरूलाई निर्णय गर्न सजिलो हुन्छ ।
टर्म इन्श्योरेन्स कस्तो हुन्छ ?

१. टर्म इन्श्योरेन्स सस्तो हुन्छ र निश्चित अवधिका लागि एउटै प्रिमियम लाग्ने हुन्छ । तर त्यसको मूल्य कति अवधिका लागि हो त्यसमा भर पर्छ । जस्तो १० वर्षे अवधिको सबैभन्दा सस्तो हुन्छ भने १५ वर्षे अलि महँगो, २० वर्षे अझ महँगो र ३० वर्षे झन् महँगो हुन्छ । तर एकपल्ट निर्धारण गरेर निश्चित अवधिको टर्म इन्श्योरेन्स लिइसकेपछि त्यो अवधि भूक्तान भएपछि सामान्यत त्यो भन्दा बढी अवधि बढाउन सहज छैन । उदाहरणको लागि ३० वर्षको उमेरको मानिसले ३० वर्षे टर्म इन्श्योरेन्स लिएको छ भने ६० वर्ष पुगेपछि त्यो टर्म इन्श्योरेन्सको अवधि समाप्त हुन्छ । ६० वर्ष भित्र मृत्यु भएका परिवारले इन्श्योरेन्सको रकम पाउँछन्, तर जीवित रहेको खण्डमा इन्श्योरेन्स रहँदैन । यहाँनेर प्रश्न उठ्छ, के त्यसपछि इन्श्योरेन्सको अवधि बढाउन मिल्दैन ? जवाफ छ, अवश्य मिल्छ । तर प्रिमियम अति महँगो हुन्छ जुन तिर्न सकिने हुँदैन र त्यो पनि वर्षैपिच्छे बढ्दै जान्छ । के त्यसो भए
टर्म इन्श्योरेन्स कामै नलाग्ने हो त ? होइन, काम लाग्छ सामान्यतया निम्न अवस्थामाः
क) टर्म इन्श्योरेन्स सस्तो हुन्छ ।
ख) अहिले आर्थिक रूपले स्थायी बिमा गर्न सम्भव छैन भने हाललाई टर्म इन्श्योरेन्स लिएर पछि त्यसलाई स्थायी इन्श्योरेन्समा वदल्न सकिन्छ र स्वास्थ्य जाँचको झण्झटवाट मुक्त हुन सकिन्छ ।
ग) कुनै खास प्रयोजनका लागि निश्चित अवधिसम्म आर्थिक संरक्षणको आवश्यकता छ भने टर्म इन्श्योरेन्स उपयोगी हुन सक्छ ।

तर टर्म इन्श्योरेन्स जीवनभरको लागि भने हुन सक्दैन र प्रिमियम बापत तिरेको सबै रकम खर्च हुन्छ एक पैसा पनि बचत हुँदैन ।

होल लाइफ वा युनिभर्सल लाइफ इन्श्योरेन्स कस्तो हुन्छ ?
१) यो इन्श्योरेन्स टर्म इन्श्योरेन्सभन्दा महँगो हुन्छ तर प्रिमियमको केही भाग खर्च भएर जान्छ र केही भाग बचत हुन्छ जुन बचतले ब्याज कमाउन सक्छ र त्यो बचतको रकम आर्थिक सङ्कटको वेला लिन सकिन्छ ।

२) यो इन्श्योरेन्स यौटा मानिस जीवित रहेसम्म कायम राख्न सकिन्छ जस्ले गर्दा बिमा गर्ने मानिसको जुनसुकै उमेरमा मृत्यु भएमा पनि इन्श्योरेन्सको रकम परिवारले पाउन सक्छन् । अर्थात् मानिसको मृत्यु निश्चित हुन्छ र स्थायी बिमाको रकम पनि पाइने निश्चित हुन्छ ।

३) यो इन्श्योरेन्सको प्रिमियम सामान्यतः सधैँ नै एउटै हुन्छ तर आफूले चाहेको खण्डमा सुरुका वर्षहरूमा बढी प्रिमियम तिरेर जीवनभर सुरक्षित हुन पनि सकिन्छ ।
टर्म लाइफ इन्श्योरेन्स वा होल लाइफ अथवा युनिभर्सल लाइफ कस्तो इन्श्योरेन्स लिने हो त्यो नितान्त इन्श्योरेन्स किन्ने व्यक्तिले निर्णय गर्ने कुरा हो । अतः इन्श्योरेन्स एजेण्टले यी सबै इन्श्योरेन्सको विषयमा स्पष्टसँग वताइदिनुपर्दछ र किन्नेले उचित निर्णय गर्न सक्दछ । यो व्यवसाय सेवा व्यवसाय हो, यसमा इन्श्योरेन्स किन्ने व्यक्तिलाई कसरी अत्यधिक फाइदा पुग्दछ त्यसमा ध्यान दिनुपर्दछ ।

कस्तो इन्श्योरेन्स कम्पनीको जीवन बिमा लिने ?
यो प्रत्येकजसो ग्राहकले निर्णय गर्नुपर्ने कठिन निर्णय हो । यौटा कुरा के सत्य हो भने जीवन बिमा राज्यको कानुनले अति गम्भिरतापूर्वक नियमित रूपले अनुगमन गर्ने क्षेत्र हो । इन्श्योरेन्स एजेण्ट हुनका लागि राज्यको परीक्षा पास गरी व्याक ग्राउण्ड सफा भएको कानुनी रूपले अमेरिकामा स्थायी बसोबास गर्ने वा काम गर्ने अनुमति पाएका व्यक्तिले मात्र गर्न सक्दछन् । त्यसै गरी इन्श्योरेन्स कम्पनीहरूले पनि पालना गर्नुपर्ने कानुनी प्रक्रियाहरू छन् । तर पनि कति कम्पनी अति ठुला र अखवार टिभीमा होर्डिंग बोर्डमा विज्ञापन गरेर परिचित देखिन्छन् भने कतिपय कम्पनीहरूको नाम सुनिएको हुँदैन । तर अमेरिकामा सबै इन्श्योरेन्स कम्पनीले सञ्चालनका लागि पालना गर्नुपर्ने सर्तहरू एउटै हो त्यसैले ठुलो वा सानो कम्पनीले खासै फरक पर्ने हुँदैन । फरक पर्ने कुरा ती कम्पनीको आर्थिक अवस्था र आर्थिक कारोबारको शुद्धता हो जसको नापो रेटिंग कम्पनीहरूले गर्दछन् । स्वतन्त्र रेटिंग कम्पनीहरूले रेटिंग हरेक वर्ष गर्दछन् र विशेष गरी ए रेटिंग वा ए प्लस रेटिंग भएका कम्पनीहरू भरपर्दा मानिन्छन् ।

जीवन बिमाको सुविधा अर्थात् डेथ वेनिफिट लिन मर्न जरुरी छ ?
यो निकै चाखलाग्दो र धेरैलाई थाहा नभएको र कतिले पत्यार गर्न गाह््रो मानेको यथार्थ हो । अमेरिकाको इन्श्योरेन्स जगतमा सन् २००७ मा यौटा नयाँ कुरा देखियो, त्यो थियो लिभिंग वेनिफिटको अवधारणा । अमेरिकाका थोरै इन्श्योरेन्स कम्पनीहरूले मात्र फुल लिभिंग वेनिफिट प्रदान गर्दछन् ।

यो सुविधा अन्तरगत निम्न कुराहरू पर्दछन्ः
क) टर्मिनल इलनेस ( Terminal Illness )
डाक्टरले २ वर्षभित्र मृत्यु हुन्छ भनी लेखिदिएमा त्यस्तो व्यक्तिले मृत्युपछि परिवारले पाउने भनिएको जीवन बिमाको डिस्काउण्टेड रकम जीवन कालमा आफैँले लिएर खर्च गर्न पाउँदछ ।

ख) क्रोनिक इलनेस ( Chronic Illness )
अमेरिकामा यौटा सारसांदो मानिसले गर्ने दैनिक क्रियाकलापलाई ६ वटा सङ्ख्यामा सूचिकृत गरिएको छ ।ती यस प्रकार छन्ः

1. Bathing,
2. Continence,
3. Dressing,
4. Eating,
5. Toileting and
6. Transferring

यी ६ क्रियाकलापमध्ये २ वटा क्रियाकलाप इन्श्योरेन्स लिएको २ वर्षपछि ९० दिनसम्म गर्न नसकेमा यो जीवनकालिन सुविधा लिन सकिन्छ ।
ग) क्रिटिकल इलनेस ( Critical Illness )

निम्न १३ वटा विमारी भएमा कुन अवस्थाको हो सो अनुसार जीवनकालमै डेथ वेनिफिट लिन सकिन्छ । विमारीको अवस्था भन्नाले] Minor, Moderate, Severe and Life Threatening हो ।
१३ विमारीहरु यसप्रकार छन्ः
१. ALS ( Lou Gehrig’s Disease,
२. Aorta Graft Surgery,
३. Aplastic Anemia,
४. Blindness,
५. Cancer,
६. Cystic Fibrosis,
७. End Stage Renal Failure,
८. Heart Attack,
९. Heart Valve Replacement,
१०. Major Organ Transplant,
११. Motor Neuron Disease,
१२. Stroke
१३. Sudden Cardiac Arrest

भएमा माथि उल्लिखित ४ अवस्थामध्ये कुन अवस्थाको हो सो अनुसार डिस्काउण्टेड डेथ वेनिफिट लिन सकिन्छ ।

घ) क्रिटिकल इन्ज्योरी ( Critical Injury
यदि कुनै व्यक्ति निम्न ४ अवस्थाको क्रिटिकल इन्ज्योरी भएमा डिस्काउण्टेड डेथ वेनिफिट जीवनकालमै लिन सकिन्छ :
१. Coma,
२. Paralysis,
३. Severe Burns and
४. Traumatic Brain Injury

यदि चलनचल्तीको प्रिमियम तिरेर अर्थात् अतिरिक्त पैसा खर्च नगरी यस्तो जीवनकालमै सुविधा पाइने इन्श्योरेन्स बजारमा छ भने किन नलिने भन्ने प्रश्न हो । यो विषयलाई नेपाली समुदायमा पुर्याउने हो भने सङ्कटको वेलामा निकै उपकार हुन सक्दछ ।

मेरो निजी विचारमा इन्श्योरेन्स नै नलिनु भन्दा कुनै पनि इन्श्योरेन्स लिनु राम्रो हो । त्यति नै पैसामा बढी सुविधा भएको इन्श्योरेन्स पाइन्छ भने बढी सुविधा भएको इन्श्योरेन्स लिनु राम्रो । इन्श्योरेन्स किन्ने वेलामा एजेण्टसँग सबै कुरा सोधेर बुझेर लिनु राम्रो । राय सल्लाह लिनु छ भने इन्श्योरेन्सको विषयमा ज्ञान भएका व्यक्तिको राय सल्लाह लिनु राम्रो ।

(विशेष नोटः यो लेखका लेखक लाइफ इन्श्योरेन्स व्यवसायसँग सम्बन्धित छन् तर यो लेखले कुनै आर्थिक कम्पनी वा इन्श्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दैन । यो लेख जीवन बिमाको विषयमा सामान्य जानकारी हेतु प्रस्तुत गरिएको हो । यसमा दिइएका उदाहरण केवल उदाहरणका लागि हुन् । कति उमेरको मानिसको कति प्रिमियम हुन्छ भन्ने कुरा त्यो व्यक्तिको लिङ्ग, उमेर, स्वास्थ्यको अवस्था तथा धूम्रपान गर्ने नगर्ने इत्यादिमा भर पर्दछ । विस्तृत निःशुल्क जानकारीका लागि लेखकको इमेल वा फोनमा सम्पर्क गर्न सकिन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक