Similar Articles

लेख रचना

अमेरिकामा ग्यास स्टेसन र कन्भिनियन्स स्टोरको इतिहास- सानुबाबु सिलवाल

बिराट नेपाल

ग्यास स्टेशनः अमेरिकी अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा

 
ग्यास स्टेसन र कन्भिनियन्स स्टोरलाई अमेरिकी जीवनको एउटा महत्त्वपूर्ण पर्याय भन्दा फरक नपर्ने भइसकेको छ । यहाँ पेट्रोललाई ग्यास भनिन्छ । पेट्रोल अर्थात् ग्यासबिनाको अमेरिकी जीवन कल्पनासमेत गर्न सकिँदैन । ग्यास स्टेसनसँगै स्टोर पनि हुन्छ । तर, सबै स्टोरहरुमा ग्यास स्टेसन नहुन सक्छ । हेर्दा र देख्दा सरल र भन्दा सामान्य लाग्ने ग्यास स्टेसन तथा कन्भिनियन्स स्टोरको व्यवसाय, काम, यसमा काम गर्ने ठुलो समुदाय, यसमा लगानी गर्ने लगानीकर्ता र अमेरिकी सरकारको राजश्व र रोजगारको ब्यापकता र स्वरुपलाइ विश्लेषण गर्दा ग्यास स्टेसन र कन्भिनियन्स स्टोर बिना अमेरिकी जीवनशैली, दिनचर्या र अर्थतन्त्र अपुरो र असम्भव जस्तै छ। ग्यास स्टेसन र कन्भिनियन्स स्टोर सञ्चालन गर्न लगानी र अनुभव तथा कानुनी हिसाबले सोचेजस्तो र भनेजस्तो सहज र सरलचाहिँ पक्कै छैन ।

खुसीको कुरा पछिल्ला वर्षहरूमा भारतीय, पाकिस्तानी, अमेरिकी वा अन्य समुदायका लागि इमानदारीपूर्वक काम गर्ने नेपाली समुदायले दुःखजेलो गरी कमाएको थोरै श्रोत र आर्थिक स्वतन्त्रताका लागि पहुँचको व्यवसाय ग्यास स्टेसन र कन्भिनियन्स स्टोरहरुमा क्रमशः लगानीमात्रै गरिरहेका छैनन्, आफ्नो साहु आफैँ बनी अमेरिकी राजश्व र रोजगारी सिर्जना गर्ने अमेरिकी अर्थतन्त्रको एउटा सहयोगी समुदायको रूपमा स्थापित हुँदै गइरहेका छन् । आश्चर्य लाग्न सक्छ, अमेरिकामा ग्यास स्टेसन र कन्भिनियन्स स्टोर इतिहास कसरी सुरु भयो भन्नेमा । अमेरिकाको व्यावसायिक, आर्थिक, रोजगार, राजस्व तथा जिबनशैलिको पर्याय  à¤¯à¤¸ महत्त्वपूर्ण व्यवसायको सुरुवात अमेरिकामा कसरि भयो? यस व्यवसाय यस समयसम्म आइपुग्दा यसको सरचना, विकास र अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदानको जानकारी सहितको यस लेख पस्किएको छु यसपटक।

ग्यास स्टेसनको इतिहास
विश्वकै इतिहासमा सन् १८५९ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको टिट्सभिलमा सफलतापूर्वक खनिएको तेल प्रशोधनलाई व्यावसायिक र व्यापारिक आधार मानिन्छ । जहाँ मुख्यतः मट्टितेल निकाल्ने र प्रशोधन गर्ने गरिन्थ्यो । सन् १८८५ मा जर्मनका कार्ल बेन्जले आविष्कार गरेका तीन पाङ्ग्रे अटोमोवाइल गाडी तीन वर्षसम्मको छोटो दुरीमा परीक्षणपश्चात १८८८ मा उनै बेन्जकी श्रीमती वेर्था बेन्जले उक्त गाडी जर्मनीको मानहर्जदेखि फोरजिमसम्मको ६० माइल प्रदर्शनीका लागि कुदाइन् । र, बिसलोचमा रहेको फार्मेसीमा रोकिन् । उनले रोकेको फार्मेसी जहाँ व्यावसायिक रूपमा पेट्रोल पनि बेचिन्थ्यो । त्यसलाई नै विश्वकै पहिलो तेल बिक्री केन्द्रका रूपमा लिइन्छ ।

सन् १८८५ मा अमेरिकाको इन्डियाना राज्यको फोटवार्नमा अमेरिकी स्यालभानस ब्राउजरले पहिलो पेट्रोल पम्प स्थापना गरे । तर, त्यहाँ मट्टितेलबाट बल्ने बत्ती र स्टोभमा मात्र भरिन्थ्यो । १८९३ मा चार्ल्स र फ्र्यान्क दुर्या दुई दाजुभाइले न्यूयोर्कमा पहिलो पटक पेट्रोल (ग्यास)बाट  à¤šà¤²à¥à¤¨à¥‡ गाडी आविष्कार गरी परीक्षण गरे । १८९६ मा दुर्या मोटर वागोन कम्पनी खडा गरी पहिलो दुर्या वागोन मोटर बनाए र बेचे पनि । बेचेको दुई महिनापछि त्यही गाडीले न्यूयोर्कमा एक जना साइकलयात्रीलाई ठक्कर दिई दुर्घटना गरायो । यो नै अमेरिकाको सबैभन्दा पहिलो ट्राफिक दुर्घटना थियो । सन् १८९८ मा जोन टोकिमले पहिलो पटक पेट्रोल बिक्री गर्ने मेसिन डिस्पेन्सर र पहिलो पटक जमिनमुनि पेट्रोल ट्यांक स्थापना गरे । व्यावसायिक रूपमा सन् १९०५ मा मिजौरी सेन्ट लुईसको थेरेसा एभेन्यूको ४२० साउथमा खोलिएको ग्यास स्टेसन कम्पनी नै अमेरिकाको पहिलो ग्यास स्टेसन हो । त्यसपछि वासिङटनको सियाटल जहाँ ५ ग्यालनको क्यानमा ग्यास भरेर ग्राहकका गाडीमा भरिन्थ्यो । सन् १९०७–०८ सम्म आइपुग्दा अमेरिकामा झन्डै तीन लाख गाडीहरु जन्मिसकेका थिए । सन् १९०९ मा पेन्सिलभेनियाको एलटनामा रिगर्डस ग्यास स्टेसन खोलियो । यो नै अमेरिकाको सबैभन्दा पुरानो व्यापारिक ग्यास स्टेसन हो । र, अझै पनि सञ्चालनमा छ । अमेरिकामा यसरी सुरु भएको ग्यास स्टेसन सन् २०१६ सम्म आइपुग्दा एक लाख ५७ हजार तीन सय ९३ वटा पुगिसकेका छन् । 

अमेरिकाको ग्यास स्टेसन र कन्भिनियन्स स्टोरहरुको ठुलो संस्था एनएसीएक्स (नाक्स) का अनुसार अमेरिकामा सन् २०१३ मा एक लाख २१ हजार ग्यास स्टेशनहरु सञ्चालनमा रहेको देखाइएको छ । सन् २०१५ को डिसेम्बरसम्मको तथ्याङ्क हेर्दा अमेरिकामा एक लाख २६ हजार ग्यास स्टेशनहरु सञ्चालनमा छन् । वातावरणीय प्रदूषण, पुराना पम्प, पुराना ट्यांकी, ग्यासमा सुक्दै गइरहेको मुनाफा, तीव्र प्रतिस्पर्धा र विविध नीतिगत झन्झटका कारण ग्यास स्टेसनको सङ्ख्या र सञ्चालनमा उतार चढाव आइरहेको देखिन्छ । अमेरिकी अर्थतन्त्र, रोजगार, राजश्व र अमेरिकी जनताको पर्याय बनेको ग्यास स्टेसन सुरु गर्न, सञ्चालन गर्न र आर्थिक मुनाफा गर्न चुनौती, सम्भावना र अवसरहरु उस्तै उस्तै छन् ।

अमेरिकामा कन्भिनियन्स स्टोरको इतिहास
कन्भिनियन्स अर्थ सहज, सजिलो र छिटो सेवा हो । अमेरिकी नागरिक अंकल जोनीले सन् १९२७ मा टेक्सासको डल्लासस्थित एजफिल्ड स्ट्रिटको १२ औं कर्नरमा आइस बेच्ने पसल आइस ढक सञ्चालन गरे । राति अबेरसम्म चल्ने आइस ढक चलाउँदै जाँदा उनलाई यस्तो अनुभव भयो कि ग्रोसरी स्टोरहरु साँझ सबेरै बन्द भएपछि स्थानीयलाई आवश्यक पर्ने अत्यावश्यक खाध्यान्न, दूध, पाउरोटी, अण्डा खोज्न कहाँ जाने ? त्यहाँ उनले अमेरिकी जनतालाई मन पर्ने मुख्य खाना पाउरोटी, अण्डा, दूध, चिज राखेर बेच्न थालेपछि यसलाई नै अमेरिकाको पहिलो कन्भिनियन्स स्टोर मानिन्छ । अंकल जोनीको यो चिन्ता र चासोले कन्भिनियन्स स्टोरले बिस्तारै ब्यपकता पाउदै गयो। नाक्सका अनुसार, अमेरिकामा सन् २०१५ सम्म एक लाख ५२ हजार सात सय ९४ कन्भिनियन्स स्टोरहरु जन्मिइसकेका छन् । कन्भिनियन्स स्टोरहरुमा ग्यास अर्थात् पेट्रोल भर्न होस् वा स्थानीय ग्रामीण वा छिटो छरितो सेवा चाहने हाइवेका भोकाएका र तिर्खाएका ग्राहकहरु सहजरुपमा प्रवेश गरी छिटो छरितोरुपमा सामान किनेर गन्तब्यतर्फ जान चाहन्छन् । त्यसैले कफी, कोल्ड ड्रिंक्स, स्न्याक्स, फलफुल, धूम्रपान, मध्यपान आदि सबैका लागि केन्द्रविन्दू मानिने कन्भिनियन्स स्टोरहरुले अमेरिकामा ब्यापकता पाइसकेका छन् । 

नाक्सका अनुसार अमेरिकामा सन् २०१४ मा एक लाख ५१ हजार दुई सय ८२, २०१३ मा एक लाख ४९ हजार दुई सय २०, २०१२ मा एक लाख ४८ हजार एक सय २६, २०११ मा एक लाख ४६ हजार तीन सय ४१ कन्भिनियन्स स्टोरहरु दर्ता भई सञ्चालनमा रहेका थिए । यो तथ्याङ्कले के देखायो भने अमेरिकामा बर्सेनि स्टोरहरुको सङ्ख्या बढ्दो छ । ५० वटै राज्यमा छरिएका यस्ता स्टोरहरु राज्यको जनसङ्ख्या, अवस्था र भौगोलिकताअनुसार सङ्ख्यामा तलमाथि छन् । टेक्सास राज्यमा सबैभन्दा बढी १५ हजार चार सय ३४ वटा कन्भिनियन्स स्टोरहरु छन् । दोस्रोमा क्यालिफोर्नियामा ११ हजार चार सय तीन, तेस्रोमा फ्लोरिडामा नौ हजार आठ सय १०, चौंथोमा न्यूयोर्कमा आठ हजार दुई सय ४७, पाँचौँमा जर्जियामा ६ हजार सात सय ६६, छैंठौंमा नर्थ क्यारोलिनामा ६ हजार तीन सय नौ वटा कन्भिनियन्स स्टोरहरु रहेका छन् । त्यसैगरी सातौँमा ओहायोमा पाँच हजार पाँच सय ३९, आठौँमा मिचिगनमा चार हजार नौ सय सात, नवौँमा इलिनोइजमा चार हजार ६ सय ७० र दसौँमा पेन्सिलभेनियामा चार हजार ६ सय चार वटा कन्भिनियन्स स्टोरहरु छन् । त्यसैगरी अलास्कामा सबैभन्दा कम दुई सय, विमिङमा तीन सय ४६ र डेलवारेमा तीन सय ५३ वटा कन्भिनियन्स स्टोरहरु रहेका छन् ।

एनएसीएक्स (नाक्स) का अनुसार, अमेरिकामा ग्यास स्टेसन र कन्भिनियन्स स्टोरहरु बर्सेनि एक प्रतिशतको दरले थपिने गरेका छन् । सन् २०१५ को तथ्याङ्कअनुसार बर्सेनि औषधि स्टोरको सङ्ख्या ४१ हजार सात सय ९९, सुपर मार्केटको सङ्ख्या ४१ हजार पाँच सय २९ र डलर स्टोरको सङ्ख्या २६ हजार पाँच सय ७२ रहेछन् । अमेरिकाको जनसङ्ख्या तथ्याङ्क ब्यूरोका अनुसार अमेरिकाको जम्मा जनसङ्ख्या ३२०.१० मिलियन छ । जुन जनसङ्ख्यामा दुई हजार ९५ परिवारलाई एक ग्यास, कन्भिनियन्स तथा अन्य स्टोरहरु भागमा पर्ने रहेछ । अमेरिकामा ग्यास तथा कन्भिनियन्स स्टोरहरुले गत सालमात्रै सात सय बिलियन डलरको व्यापार गरेका रहेछन् । विकिपेडियाका अनुसार अमेरिकाका ग्यास तथा कन्भिनियन्स स्टोरहरुबाट हरेक दिन ११ मिलियन कफी कप बिक्री हुँदा रहेछन् । वियरको दैनिक खपतको ८० प्रतिशत हिस्सा ग्यास तथा कन्भिनियन्स स्टोरहरुले ओगटेका रहेछन् । वर्षमा झन्डै चार बिलियन राजश्व सङ्कलन गर्ने ग्यास तथा कन्भिनियन्स स्टोरहरुले लाखौँ लाख रोजगार सिर्जना गरेका छन् । इयुक्लिडको तथ्याङ्कअनुसार ग्यास स्टोरमा नौ लाख २६ हजार सात सय ९२ जनाले रोजगारी पाएका छन् । यसबाहेक तथ्याङ्कमा नसमेटिएका लाखौँ लाख छन् ।

ग्यास स्टेसन सञ्चालन गर्न के कस्ता चुनौती, अवसर र सम्भावना छन् ? के कस्तो आम्दानी हुन्छ ? जोखिम र फाइदाहरू के कस्ता छन् ? ग्यास तथा कन्भिनियन्स स्टोरहरु कसरी खोज्ने र सुरु गर्ने ? सञ्चालन गर्दा के कुरामा ध्यान दिने ? कसरी सफलता हात पार्न सकिन्छ ? अमेरिकाका कहाँ कहाँ ग्यास स्टेसन सुरु गर्न उपयुक्त हुन्छ ? र, सञ्चालन र सफलताका मूलमन्त्रहरु के के हुन् ? यी र यस्ता विषयमा विस्तृत अर्को लेखमा उल्लेख गर्नेछु ।

(लेखक सिलवाल यु एस नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक सभापति, अमेरिकामा नेपाली व्यवसायी पनि हुनुहुन्छ। वरिष्ठ वातावरण पत्रकार सिलवाल यु एस चेम्बर अफ कमर्श अमेरिकाका सल्लाहकार सदस्य पनि हुनुहुन्छ।)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक