बिराट नेपाल
2016-02-08
व्यङ्ग्य:-
झरीको दिनमा टेम्पोभित्रको यात्रा कस्तो होला ? निक्कै न्यानो थियो । छोरी स्कुल पु्र्याउन लागेका एक अधवैशे मानिस बायाँ तर्फ बसेका थिए, दुई छोरीहरूको साथमा । मेरो अघिल्तिर प्याजी रङ्गको लाहुरे छाता टेकेर ६५ हाराहारीका बाजे पनि बसेका थिए, पल्टनको पेन्सनमा बजेका लाहुरे जस्ता थिए । उनको आडैमा उनकी श्रीमती पनि थिइन्, जाडोमा रातो पच्छ्यौंरा गम्लङ्गै ओढेकी । त्यससँगै अर्का बाजे बसेका थिए, दाँत त थिएनन, हाँस्न चाहिँ मिठो हाँस्थे, खित्का छाडेर । यिनलाई हँसमुख बाजे भनौं ।
कार्यलय जान हतारिएका केही युवाहरू मेरो बायाँ तर्फ थिए, म जस्तै । दश जनाको जत्था शान्तीनगर चोकबाट बानेश्वर हुँदै सुन्धारा आउने तयारीमा थियो, बिहानको ९ बजेर ५ मिनेट जाँदाको समयमा । पानी निरन्तर पर्दै गर्दा टेम्पु स्टार्ट भयो । २५ हाराहारीकी एक बहिनी दौडदै आइन अनि टेम्पुभित्र उक्लिइन् । उनले छाता बन्द गर्ने बित्तिकै त्यसको पानी चुहिएर बाजेको पाइन्ट रुझायो । ‘यसो सर्नुस् है छाताले भिजाउला’ उनले भन्न नपाई हँसमुख बाजेले मुख खोले, ‘छाताले भिजाएपनि पानीले नभिजाए भैहाल्यो केही छैन ।’ सबैको हाँसो छुट्यो । टेम्पु चल्न थाल्यो ।
‘यो छाता मज्जैले टिक्छ, गज्जब हुन्छ,’ हँसमुख बाजेले लाहुरे बाजेको प्याजीरंगको छाता देखाउँदै भने । ‘खै क्यार्छ, चाइनीज न हो,’ लाहुरे बाजेले मुख खोले ।
‘त्यही त भरपर्ने हुन्छ भन्या त,’ हँसमुखबाजे खित्का छाडेर हाँसे, ‘इन्डेन त भन्ने मात्र हो, भरको हुँदैन भन्ने देखिहाल्यो नि ।’
त्यसपछि टेम्पुभित्र सबैको हाँसो गुञ्जियो । -घिमिरेको ब्लगबाट
Post Comments Using Facebook
Your Comments