Similar Articles

नेपाल समाचार (Nepal)

दोस्रो पटक दाहाल प्रधानमन्त्री पदमा विजयी

बिराट नेपाल

नारायण न्यौपाने विष्णु नेपाल ( रासस ) काठमाडौँ, १९ साउन । 

गणतान्त्रिक एवम् लोकतान्त्रिक नयाँ संविधान जारी भएपछि दोस्रो प्रधानमन्त्री बन्ने सौभाग्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त गर्नुभएको छ । भूमिगत राजनीतिबाट खुला राजनीतिमा प्रवेश गरेपछि उहाँ दोस्रो पटक मुलुकको सर्वाेच्च तह प्रधानमन्त्री पदमा पुग्न सफल हुनुभएको छ । माओवादी पार्टीका तर्फबाट अध्यक्षका हैसियतमा उहाँ दुईपटक प्रधानमन्त्रीको सर्वाेच्च पद हाँक्दै हुनुहुन्छ ।

 

संसदीय व्यवस्थाको खरो र दरो पक्षपाती एवम् सदनमा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको साथ र समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । यसबाट संसदीय लोकतान्त्रिक प्रजातन्त्रमा नयाँ इतिहासको रचना समेत भएको छ ।

 

संसदीय प्रजातन्त्रमा आस्था र विश्वास राख्नेहरु भन्दछन् – राजनीतिमा सधैँका लागि कोही कसैको शत्रु र मित्रु हुँदैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिई २०५२ फागुन १ गते भूमिगत राजनीतिमा हाम फालेका अध्यक्ष दाहाललाई तिनै देउवाले उहाँलाई प्रधानमन्त्री पदको प्रस्ताव गरी नयाँ राजनीतिक संस्कारको सुरुवात गर्नुभयो । नेकाको यो त्यागलाई लोकतान्त्रिक संसदीय प्रजातन्त्रको अनुपम उदाहरण मान्न सकिन्छ ।

 

२०६३ मङ्सिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल ।

 

 

आफ्नो दल ठुलो हुँदाहुँदै नेका सभापति समेत हुनुभएका पूर्वप्रम देउवाले देखाउनुभएको यो ‘राजनीतिक उदारता’मा कुन पार्टीले बढी लाभ उठाउँला ? यो भविष्यमा देखिएला नै । नेपालको संसदीय अभ्यासमा सदनमा तेस्रो हुने पार्टीले बढी प्रधानमन्त्रीको लाभ लिइरहेको देखिन्छ । यही लाभबाट नै विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सूर्यबहादुर थापा र लोकेन्त्रबहादुर चन्दले प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो ।

 

विगतमा अध्यक्ष दाहालकै साथ र सहयोगमा नेकपा (एमाले)का नेताद्वय माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बन्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रम बनाउँदा पनि अध्यक्ष दाहाल नै प्रस्तावक हुनुहुन्थ्यो । तर पहिलोपटक प्रधानमन्त्री बन्न एमालेको साथ पाउनुभएका अध्यक्ष दाहालले यसपटक एमालेको साथ र सहयोग पाउनुभएन ।

 

संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादी सबैभन्दा ठुलो शक्तिका रूपमा स्थापित भएसँगै उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएको थियो । नेपालका वामपन्थी नेतामध्ये दोस्रोपटक प्रधानमन्त्री हुने अध्यक्ष दाहाल पहिलो व्यक्ति हुनुहुन्छ ।

 

तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो भने त्यसपछि क्रमशः दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र केपी ओली त्यो पदमा आसीन हुनुभयो ।

आफ्ना सहकर्मीहरुसंग

 

अघिल्लो पटक २१ राजनीतिक दलको समर्थनमा दुई तिहाइभन्दा बढी अर्थात् ४६४ मतका साथ प्रधानमन्त्री पदमा दाहाल निर्वाचित हुनुभएको थियो ।

 

दशवर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका अध्यक्ष दाहाल बालुवाटारमा सार्वजनिक भएको १० वर्षमै मुलुकको कार्यकारी प्रमुख बनेर दोस्रो पटक बालुवाटार प्रवेश गर्न सफल हुनुभयो ।

 

कास्की ढिकुर पोखरीमा छविलालको छवि बनाउनुभएका दाहालले राजनीतिमा कल्याण, विश्वास, निर्माणजस्ता उपनाम हँुदै ‘प्रचण्ड’का रूपमा ख्याति आर्जन गर्नुभएको हो ।

 

पहिलो पटक प्रधानमन्त्री हँुदा दिल खोलेर सघाएको एमाले अहिले विपक्षमा उभिएको छ । प्रमुख दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासले परिणाम दिन नसकेपछि पहिलो ठुलो दलको समर्थनमा संसद्मा तेस्रो भूमिकामा रहेको माओवादीको नेतृत्वमा सरकार गठनको चाँजोपाजो मिलेको हो ।

 

कार्यकारी अधिकारसहितको प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको वकालत गर्नुभएका अध्यक्ष दाहालमा मुलुकको शक्ति सन्तुलनका कारण सो एजेन्डाले मूर्तरुप लिन नसकेपनि कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी दोहोरिन पुगेको छ ।

 

यस पटक उहाँले आफ्नै समर्थनमा रहेको केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव लिएर सदन छिर्नु भयो ।

 

विगतमा भएको सहमति कार्यान्वयन नगरेको तथा समर्थन गरेको दललाई बेवास्ता गरेर भूमिकाविहीन तुल्याएको आरोप लगाउँदै अध्यक्ष दाहालले ओलीविरुद्ध मोर्चाबन्दी गर्नुपर्ने स्थिति सिर्जना भएको प्रतिक्रिया दिनुभएको थियो ।

 

२०६१ सालमा रोल्पाको थवाङमा ।

 

विगत दश वर्षसम्म एक अर्काविरुद्ध कटाक्ष गरेर उभिएका लोकतान्त्रिक र वामपन्थी शक्तिबीचको यो गठबन्धन सत्ताको लागि मात्र हुने त होइन भनेर आशङ्का गर्नेहरु पनि छन् । विसं २०२८ मा पुष्पलाल समूहको सदस्यता लिएर वामपन्थी आन्दोलनमा होमिएका अध्यक्ष दाहालले सुरुका दिनमा शिक्षण पेसासमेत अङ्गाल्नु भएको थियो ।

 

विसं २०५२ फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका दाहाललाई तत्कालीन शाही सरकारको गतिविधिले संसद्वादी दलसँग राजनीतिक सहकार्य गर्ने वातावरण बनाएको थियो । फलस्वरुप २०६३ मङ्सिर ७ गते नेपालको इतिहासमै महत्त्वपूर्ण दस्ताबेजको रूपमा रहेको १२ बँुदे सहमतिले उहाँलाई नेपालको खुला राजनीतिमा अवतरण गरायो ।

नेपालको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रूपमा पहिचान बनाउन सफल नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूलाई लागेको बोल्ने र आफ्नो वचनमा अड्न नस्कने नेताको रूपमा पनि चित्रण गर्ने गरिन्छ ।

 

नयाँ संविधान कार्यान्वयन, नेपालले चीन र भारतबीचमा सन्तुलन कायम राख्दै अगाडि बढ्नु अध्यक्ष दाहालका प्रमुख चुनौती हुन् । संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्ने अहं जिम्मेवारी अध्यक्ष दाहालमाथि छ ।

 

राजनीतिमा फरक विचार राख्नेहरुविरुद्ध आक्रामक शैलीमा उत्रने तथा भावुक भई निर्णय लिने उहाँको बानीलाई कमजोरीका रूपमा पनि हेर्ने गरिन्छ । रासस



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक