बिआरटी नेपाल सम्बादाता, न्यू ह्याम्सायर ।
भुटानी समाज न्यू ह्याम्पसायरको एउटा छुट्टै कार्यक्रम हिमालयन ह्यारिटेजको वार्षिक उत्सव स्थानीय हुकसेट सहरमा विभिन्न कार्यक्रमहरू गरी सम्पन्न गरिएको छ । गीत संगीति, भजनकीर्तन, र जन्मोत्सव सँगेटेर आयोजना गरिएको उक्त कार्यक्रम न्यू ह्याम्पसायर राज्यको राजधानी कन्कर्ड नजिकैको हुकसेट सहरमा सन्पन्न गरिएको हो ।
म्यान्टेनिङ इन्डिपेन्डेन्स दिवा सेवा केन्द्रमा सम्पन्न भएको उक्त कार्यक्रमलार्इ सेवा केन्द्रका व्यवस्थापक कृष्ण नेपालले स्वागत गर्नु भएको थियो । कार्यक्रमलार्इ सम्बोधन गर्दै स्थानीय भुटानी समाजका प्रतिनिधि भगिरथ खतिवडाले हिमालयन ह्यारिटेज कार्यक्रम र यसका विशेषतामाथि प्रकाश पार्दै उक्त कार्यक्रमलार्इ संयोजन गर्दै आउनु भएका संगीतसाधक हरिमाया खतिवडा र प्रेमसागर खतिवडालार्इ आभार व्यक्त गर्नु भयो । उहाँले उक्त कार्यक्रमलार्इ भुटानी समाज न्यू ह्याम्पसायरले निरन्तरता दिने र नानीहरूलार्इ सामेल गराएर दिगो लाभ लिनलार्इ अभिभावक र समाजका सारोकारवालाहरूलार्इ आह्वान गर्नु भयो ।
कार्यक्रमको स्वागतमा मादलका विभिन्न ताल र धुनहरू हिमालयन ह्यारिटेजका विद्यार्थी तथा बालकलाकार, विपलभ खतिवडाले प्रस्तुत गर्नु भएको थियो भने हिमालयन ह्यारिटेजकै विद्यार्थीहरूले "करोडाैं मुटुहरूको ढुकढुकी नेपाल" नामको गीत गाएर दर्शक र सहभागीहरूलार्इ स्वागत गरेका थिए ।
फेसबुकमार्फत प्रत्येक्ष प्रसारणबाट हजार बढी र हलमा एक सय बढी मानिसहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अनीचिङ्ग डोल्माले गाउनु भएको, "फुलको आँखामा फूलै संसार" बोलको गीत हिमालयन ह्यारिटेजकी विद्यार्थी तथा स्थानीय बाल गायिका स्मारिका भुजेलले हार्मोनियमकासाथ प्रत्येक्ष गाउनु भएको थियो ।
सोही क्रममा सुजन गुरुङ, गीता दंगाल, निर्जन गुरुङ, गोपाल तिम्सिना, सविन सुब्बा, लोचन काफ्ले शर्मा, सुजन भुजेल, स्मारिका भुजेल, हेमा ढुङ्गेल, विप्लभ खतिवडा, लोचना काफ्ले शर्मा, स्तुति खतिवडा लगायतका बालकलाकारहरूले विभिन्न साङ्गीतिक धुनहरू, दोहोरी गायन लगायतका आकर्षक प्रस्तुतिहरू दिएकोमा फेसबुकमा लाइभ रहनु भएका सहभागीहरूले कमेन्टमार्फत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै म्यान्टेनिङ इन्डिपेन्डेन्स दिवा सेवा केन्द्रका सञ्चालक कायल वोर्थले सम्पूर्ण सहभागीहरूलार्इ स्वागत गर्दै कलाकारहरूलार्इ धन्यवाद दिएर मनोरञ्जनमा अगाडि सरिक हुन अनुरोध गर्नु भएको थियो । जम्मा १५ सेकेन्डमा आफ्नो सारगर्वित मन्तव्य दिएर वोर्थले सहभागीहरूमा हर्सोल्लास भर्नु भएको थियो । हिमालयन ह्यारिटेजको यस सत्रमा न्यु ह्याम्पसायरको राजधानी कन्कर्ड सहरका जम्मा २० जना नानीहरू सहभागी भएको जानकारी उक्त कार्यक्रममा सहयोग पुर्याउँदै आउनु भएकी अभिभावक सुधा भण्डारी खतिवडाले दिनु भयो ।
सोही अवसरमा आज जन्म दिन पर्न गएका सेवा केन्द्रका दुर्इ सहभागी दल खड्का र नन्द घिमिरेको सामूहिक जन्मोत्सव गरिएको थियो । ६६ औँ जन्म दिवस मनाइरहेका दल खड्का र ७३औं जन्मोत्सव मनाइरहेका नन्द घिमिरेले बक्तव्य दिएर अमेरिका आएपछि यसरी जीवनमा विरलै मनाइएको जन्मोउत्सवलार्इ परिवार र समाजका विभिन्न तह र ओहोदाका मानिसहरूसँग बसेर सार्वजनिक रूपमा मनाउन पाउँदा आफूहरू ज्यादै हर्षित भएको बताउनु थियो ।
बिआरटी नेपालसँग बोल्दै हिमालयन ह्यारिटेजका प्रशिक्षक हरिमाया खतिवडाले बालबच्चाहरूलार्इ नेपाली भाषा, साहित्य, सङ्गीत, गायन, र संस्कृतिको आधारभूत ज्ञान बाँड्न पाउनु गर्वको कुरा हो, बताउनु भयो । उहाँले थप्नु भयो, "नेपाली भाषा बोल्न बिर्सिएका सहभागी विद्यार्थीहरूले एक वर्षमै नेपाली भाषा फरर बोल्न र पढ्न सक्ने भएका छन्, नानीहरूले मादल, हार्मोनियम, तबला लगायतका बाजाहरू मजाले बजाउन जानेका छन्, लोक गीत, आधुनिक गीत, र भजन निकै राम्रो गरी गाउन सक्छन् साथै सङ्गीत दिन पनि सक्छन् । यो भन्दा गर्वको कुरा हामी विदेशीलार्इ के हुन सक्छ ? तपार्इं नै भन्नु न ?"
उक्त कार्यक्रममा फेसबुकमा कवि पुरानाघरेको वालबाट लाइभ बटु न्याैपाने, खेम खतिवडा, र अनिता ढुंगेलले संयोजन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन पुरानाघरेले गर्नु भयो थियो । स्थानीय भुटानी समाजमा लामो समयदेखि व्यावसायिक फोटोपत्रकारका रूपमा सरिक रहँदै आउनु भएकी अतिथि, फोटोपत्रकार बेकी फिल्डको उपस्थितिले सहभागी र विद्यार्थीहरूमा खुसीयाली छाएको थियो ।
कार्यक्रममा आउनु भएका अतिथि र सहभागीहरूलार्इ धन्यवाद दिँदै प्रेसागर खतिवडाले विदेश पनि यस्तो कार्यक्रम गरी फेसबुक र हलमा भएका दर्शगणको मन जित्न पाउनु भाग्यको कुरा रहेको बताउनु भयो । उहाँले कार्यक्रमलार्इ विधिवत समापन गर्दै भन्नु भयो, "नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिलार्इ विदेशमा रहेर भए पनि यसरी संवर्धन र सम्रक्षण गर्न पाउनु वा सक्नु ठुलो कुरा हो । त्यो भन्दा ठुलो कुरा त स्थानीय भुटानी समाजले यसलार्इ संयोजन गर्न सहायता गरिदिएको छ ।"
कार्यक्रममा उपस्थित हुन न्यू ह्याम्पसायरको राजधानी कन्कर्ड, म्यान्चेस्टर, डोभर, हुक्सेट लगायतका सहरहरूबाट आएका दर्शकहरूले एउटा भिन्न पाराको नेपाली कार्क्रम हेर्न पाएकोमा खुसी व्यक्त गरे । उक्त कार्यक्रममा फेसबुक लाइभमार्फत अमेरिका, क्यानडा, नेपाल, भुटान, बर्मा, जापना, खाडिका विभिन्न मुलुकहरू, बेलायतका विभिन्न राज्यहरू, अस्ट्रेलिया, न्यूजील्याण्ड, इज्रायल, कोरिया, भारत लगायतका विभिन्न देशका नेपालीहरूले प्रत्येक्ष परोक्ष सहभागिता जनाएका थिए ।
फोटो: बेकी फिल्डले