न्यु योर्क, कराते प्रशिक्षक शान्तबाबु थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोसाइटीको निर्वाचन अगष्ट २८ तारिक न्युयोर्कमा हुँदै छ । न्युयोर्कको ज्याक्सन हाइटमा शनिवार पत्रकार सम्मेलन मार्फत थोकरले उमेदवारी घोषणा गरेका हुन् ।
“समाज विकासमा मैले पुर्याएको आफ्नो दशकौको अनुभवलाई तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनदेखि नेतृत्व लिदै समग्र तामाङहरूको वृहत्तर हितको निम्ति सारथीको रूपमा सामाजिक जिम्मेवारी लिने आज म घोषणा गर्दछु ।” सोसाइटीका सस्थापक, वर्तमान र दुई पूर्व अध्यक्ष उपस्थित पत्रकार सम्मेलनमा थोकरले उमेदवारी घोषणा गरेका हुन् ।
सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका थोकरले आफू सम्र्वसम्वत रूपमा नेतृत्वमा चयन हुने आशा राखेका छन् । “सोसाइटीको अहिले सम्मको सस्कारमा नेतृत्व चयन सर्वसम्वत हुँदै आएको छ, मलाई आशा छ आठौ अधिवेशनले पनि त्यो परम्परालाई निरन्तरता दिने छ ।”
सन् २००७ देखि न्युयोर्कमा बसोबास गर्दै आएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका प्रशिक्षक हुन् । न्युयोर्कमा कराते स्कुल सञ्चालन गर्ने अहिले सम्म उनी एक्लो नेपाली पनि हुन् ।
पत्रकार सम्मेलनमा सोसाइटीका पूर्व अध्यक्ष भरत लामाले थोकरको उमेद्वारीमा वदाई तथा शुभ कामना दिए । “यो हाम्रो घर हो, अमेरिकामा तामाङहरूको जनसख्या दिन दिनै बढ्दै आएको छ, जुनसुकै तामाङले पनि यो सस्थाको नेतृत्व लिन सक्छ,तर सक्षम मान्छे आउनु पर्छ, कसैले पनि व्यक्तिगत इगो लिनु हुँदैन ।”
सोसाइटीका सल्लाहाकार बंशलाल मोक्तानले निर्वाचनका नाममा सस्थामा मनमुटाव ल्याउन नहुनेमा जोड दिए । “सबै बस्दा यो घर सुरक्षित छ भन्ने महसुस सबैमा हुनु पर्दछ, चुनावका विभिन्न विधि हुन्छ तर सोसाइटीमा अहिले सम्म सर्वसम्वत रूपमा नेतृत्व चयन गर्ने परम्परा छ, अब पनि त्यो परम्परा पनि कामय राख्नु पर्दछ ।”
यस्तै सस्थाका सस्थापक अध्यक्ष सुभाष लामाले सोसाइटीको निर्वाचनमा कसैलाई बोकेर नहिड्ने तर सक्षम व्यक्ति नेतृत्वमा आउन पर्छ भन्नेमा आफू रहेको बताए । “नेतृत्वले सबैलाई समेटने क्षमता राख्नु पख्नु पर्छ, शान्त जी आफै पनि काम गर्छु भनेर आउनु भएको छ म शुभ कामना दिन चाहान्छु ।”
सोसाइटीका पूर्व अध्यक्ष राम तामाङले एकाध वर्ष अगाडी सम्म पदमा बस्ने मान्छे खोज्दै हिड्नु पर्ने सस्थामा अहिले एक महिना अगाडी नै उमेदवारी धोषणा हुनु भनेको सस्थाको लोकप्रियता बढ्नु हो भन्दै थोकरलाई शुभकाम दिए ।
सोसाइटीका अध्यक्ष सूर्य बहादुर तामाङ सस्थागत विकास गर्ने व्यक्ति नेतृत्वमा आउनु पर्नेमा जोड दिए । “मैले कसैलाई उमेदवार होऊ या नहोउ भनेर भन्न मिल्दैन्, सस्था पछि पछि व्यक्ति अघि अघि नहोस भन्ने मेरो चाहाना हो, अहिले नै चुनावको चर्चा गर्दा डम्फु साँझलाई असर नपरोस भन्ने हो, तपाइहरु जो कोही पनि अध्यक्षमा आउन सक्नु हुन्छ, व्यक्ति आउने जाने हुन्छ तर सस्था सदैव रहन्छ, सस्थालाई बदनामी गराउन हुँदैन ।”
अधिवेशन मिति सर्न सक्ने
यसै बिच अगष्ट २८ लाई तोकिएको तामाङ सोसाइटी अफ अमेरिकाको अधिवेशन मिति सर्ने भएको छ । सोही दिन गैर आवासीय नेपाली सङ्घ एनआरएनको विश्व सम्मेलन अमेरिकाकै न्युजर्सीमा हुँदै छ । पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष सूर्य तामाङले एनआरएनको कार्यक्रम एकै दिनमा पर्ने भएकाले छिटटै नै कार्यसमितिको बैठक बसी नयाँ मिति तय गर्ने बताउनु भयो ।