विजय थापा ,वाशिंगटन डिसी ।
भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो l
उक्त संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, विजय अधिकारी, सुनिल उप्रेती, निक्की कार्की, बिनय पौडेल, सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी, सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो l
दिपेश किशोर भट्टराईले मलाई माफ गरी देऊ, भेडाको उन जस्तो, हरिस माथेमाले आँखाको नानी हौ तिमि, मायाले माया गासि देऊ तथा बाबु बोगटीले सान नानी तिमिलाई, तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरू प्रस्तुति गरेका थिए l
प्रत्यक्ष सङ्गीत माध्यमबाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की, विजय अधिकारी, सुनिल उप्रेती, बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरूले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए l
दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुति गरेका थिए l यसै गरी नेपाली चलचित्रकि नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गीतमा बेजोड प्रस्तुति गरेको थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुति गरेकी थिइन् l कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दी चलचित्रका केही सदाबहार गीत प्रस्तुति गरेका थिए l
कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देश्यले आगामी अगस्त महिनामा भर अमेरिकाका विभिन्न राज्यहरूमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए l
कार्यक्रममा पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले खरिद गरेको टिकटबाट भाग्यशाली विजेतालाई उक्त कम्प्युटरको लागि विशेष तालिम निःशुल्क प्रदान गर्ने घोषणा गर्यो l आयोजक भिन्तुना अन्तर्राष्ट्रियको तर्फबाट राम चन्द्र खरेलले सबैलाई विशेष धन्यवाद दिएका थिए l