बिआरटी नेपाल सम्बादाता, काठमाडौँ, २१ साउन
नेजा अमेरिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा दुर्घटनाका घाइते तथा परिवार गुमाएका पत्रकार नरहरी आचार्यलाई सहयोग रकम हस्तान्तरण तथा ग्रामीण पत्रकारितामा योगदान पुर्याएका नागरिक दैनिकका पत्रकार जनक केसीलाई पुरस्कार वितरण एकसाथ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौँ कार्यलयमा शुक्र्रबार एक कार्यक्र्रम गरी पत्रकार द्वय अर्याल र केसीलाई सहयोग वितरण तथा पुरस्कृत गरिएको हो ।
पुरस्कार वितरण तथा सहयोग वितरण समारोहमा बोल्दै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आफू र महासंघ सधैँ पत्रकारको हकहितमा उभिने प्रतिबद्धता व्यक्त गरे भने यही कार्यक्रमका लागि अमेरिकाबाट नेपाल आएका नेजा अमेरिकाका उपाध्यक्ष गुणराज लुईटेलले नेजा अमेरिका अप्ठ्यारोमा परेका पत्रकारको पक्षमा सधैँ उभिन र सहयोग गर्न तत्पर रहेको बताउँदै नेजा अमेरिकाले हाल सम्म गर्दै आएका कार्यहरुबारे प्रस्ट्याए ।
कार्यक्र्र्रममा बोल्दै दुर्घटनामा परि गम्भीर घाइते बनेर हाल उपचार गराइरहेका तथा परिवार गुमाएका पत्रकार नरहरी अर्यालले नेजाद्धारा हस्तान्तरण गरिएको दुईलाख ४५ हजार ९ सय ६४ रुपैया सहयोग बुझ्दै नेजा अमेरिकाकाको यो सहयोगले आफूलाई हौसला मिलेको भन्दै नेजा अमेरिकाका सम्पूर्ण सदस्यलाई धन्यवाद दिए ।
त्यस्तै ग्रामीण पत्रकारितामा योगदान पुर्याउँदै आएका पुरस्कृत पत्रकार जनक केसीले १ लाख ११ हजार १ सय १ रुपैया १ पैसा बुझ्दै जाजरकोट लगाएत ग्रामीण भेगमा काम गरिरहेका पत्रकारका अप्ठ्यारा र चुनौती साथै त्यहाँका पत्रकारको भूमिका बारे जानकारी गराए ।
पुरस्कार वितरण तथा सहयोग हस्तान्तरण कार्यक्रममा महासंघ अध्यक्ष बिस्ट, नेजा उपाध्यक्ष लुईटेल साथै पत्रकार महासंघ उपाध्यक्ष अनिता बिन्दु, राष्ट्रिय समाचार समिति महाप्रवन्धक निर्मला आचार्य, वरिष्ठ पत्रकार कुन्दन अर्याल लगायत विभिन्न क्षेत्रमा सकृय नयाँ तथा पुराना पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरेको थियो ।