१० साउन, काठमाडौँ । जल, जमिन, जङ्गल, जडिबुटि, जनावर, जराजुरी , जनशक्ति र जलवायू लगायतका अष्ट–ज को पहिचान, संरक्षण, संवर्धन, उत्पादन र प्रभावकारी वितरणको मुख्य लक्ष्य राखी नेपालको आर्थिक समृद्धिमा योगदान पु¥याउने र व्यावसायिक कृषि उत्पादनमा जोड दिने उद्देश्यका साथ अष्ट ज ले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई अकबरे खुर्सानि र फुलका गमला हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको मुख्यालय भद्रकालिमा एक कार्यक्रमको आयोजना गरी गमला हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले अष्ट ज अभियानले थालेको राष्ट्रिय उत्पादन जागरणलाई सेनाका तर्फबाट स्वागत गर्दै अभियान सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि व्यवसायिकरणको राष्ट्रिय आवश्यकतालाई महसुस गर्दै सकेसम्म र मिलेसम्म सेनाको सकल परिवारलाई तालिम सञ्चालन गरेर पनि कृषि उत्पादनमा जोड दिन लगाइने बताउनु भयो ।
आफूले प्रधानसेनापतिको जिम्मेवारी पाएपछि सरसफाइ तथा स्वास्थ्य मैत्री कार्यक्रमलाई अभियानकै रूपमा लैजान ‘गो ग्रिन क्याम्पियन’ सुरु गरेको जानकारी पनि उहाँले गराउनु भएको थियो ।
अष्ट ज अभियान र नेपाली सेनाले पर्यावरिणीय सन्तुलन, स्वास्थय मैत्री वातावरण र कृषिको व्यवसायिकरणलाई प्राथमिकताका साथ एकै आँखाबाट हेरेको भन्दै प्रधानसेनापति क्षत्रिले अष्ट ज को महत्त्व र अभियन्ताहरुको सोचलाई नेपाली सेनाका सकल दर्जाका बिच जानकारी गराई सबै ब्यारेकमा सम्भव भएसम्म लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो । नेपाल कृषि प्रधान देश हो, नेपालको आथिक जग कृषिमै निर्भर हुने भन्दै उहाँले अष्ट ज ले थालेको कृषिको राष्ट्रिय अभियानले नेपालीहरू भोलिका दिनमा कृषिबाटै आत्मनिर्भर हुने र स्वाधीनताको अुनभूतिको अवसर सिजर्ना गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले विपद् व्यवस्थापन र पर्यावरणीय सुरक्षा, राष्ट्रिय विकास वा अन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै देशमा आइपर्ने सबैखालका समस्या समाधानमा नेपाली सेना तयार रहने बताउनुभयो । उहाँले नेपाली सेनाले विद्यमान राजनीतिक एवम् सुरक्षा स्थितिलाई समेत सुष्म ढङ्गले नियालिरहेको र यस्ता गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई संविधानसम्वत ढङ्गबाट सामना सशक्त गर्नु नेपाली सेनाको दायित्व हुने कुराको समेत स्मरण गराउनु भयो ।
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले नेपाली सेनाको ऐतिहासिकता, क्षमता र हाम्रो राष्ट्रिय आवश्यकता समेतलाई ध्यान दिई नेपाली सेनाको सकल परिवारमा उत्पादन जागरण सम्प्रेषण गर्न आग्रह गर्ने उद्देश्यसहित राष्ट्रिय सुरक्षाको नेतृत्व गर्नुहुने प्रधानसेनापतिलाई गमला हस्तान्तरण गरिएको बताउनु भयो ।
अध्यक्ष भट्टराईले जस्तो भन्यो त्यस्तै माटो र संसारमै उत्कृष्ट हावापानी” भएको हाम्रो देशको ठुलो जनशक्ति सस्तो ज्यालामा विदेशीएको स्थितिका बिच दूध, दही, तरकारी, फलफुल, माछा, मासु अन्न लगायतका कृषिजन्य उत्पादनमा मात्रै अरबौँ व्यापार घाटाको मुटु पोल्ने तथ्याँकले कृषिप्रधान देशका हामी सबै नेपालीलाई गम्भीर बनाएको भन्दै अभियानले थालेको कृषिको व्यवसायिकरणमा जोडिँदै र जहाँ जति सम्भव हुन्छ त्यही सापेक्षतामा व्यावसायिक उत्पादनका लागि संस्थागत र व्यक्तिगत प्रयासहरू वृद्धि गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले सो अवसरमा अष्ट ज अभियान नेपालले “कृषि ब्यवशायिकरणका लागि राष्ट्रिय जागरणः समृद्ध नेपालको लागि स्वाधीन अभियान” भन्ने भावका साथ सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राजनीतिक दलका शीर्ष नेताहरू, सरकारका मुख्य–मुख्य अङ्ग सँग सङ्क्षिप्त भेटघाट र अन्तरक्रिया गर्दै देशका पचहत्तरै जिल्लामा “उत्पादनबाटै समृद्धि” र “माटो खेर नफालौँ” भन्दै जागरण यात्रा अघि बढाइरहेको जानकारी पनि गराउनु भएको थियो ।
अभियानका महासचिव निलकण्ठ तिवारीले अष्ट ज का बारेमा प्रकाश पार्दै गमला हस्तान्तरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । आर्मी अफिसर्स क्लबको हलमा सम्पन्न सो कार्यक्रममा अष्ट ज का पदाधिकारी सहित पचास जना अभियन्ता र नेपाली सेनाका रथिबृन्द तथा उच्च पदस्थ सैनिक अधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।